
मिरा कुइकेल/ उर्लाबारी
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आमा, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।




महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता यी दिवसका प्रमुख विषयहरू हुन्। एक शताब्दीभन्दा बढी समयदेखि सुरु भएको यो अभियानले धेरै महिलाहरूको सामाजिक, राजनीतिक र आर्थिक जीवनमा परिवर्तन ल्याएको छ। तर, विडम्बना के छ भने पछाडि पारिएका श्रमिक, उत्पीडित तथा ग्रामीण क्षेत्रका महिलाहरूले यसको प्रत्यक्ष प्रभाव अझै पनि अनुभूति गर्न सकेका छैनन्।
सरकारले महिला सशक्तिकरणका नाममा विभिन्न सीपमूलक तालिम र गोष्ठी सञ्चालन गर्दै आएको छ। तर, ती कार्यक्रममा पहुँचवालाहरूको मात्र बोलवाला देखिन्छ। वास्तविक श्रमिक महिलाहरू, जसले यस्तो कार्यक्रमको सबैभन्दा बढी आवश्यकता राख्छन्, उनीहरूलाई प्राथमिकतामा राखिएको पाइँदैन। यस्तो असमान व्यवहारप्रति स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
हाम्रो समाजमा महिलालाई धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर पूजिन्छ। तर, व्यवहारमा भने पुरुष समान व्यवहार गरिएको देखिँदैन। बिहानदेखि रातिसम्म घरधन्दा, बालबच्चाको हेरचाह र अन्य जिम्मेवारी सम्हाल्ने महिलाहरू नै समाजमा सबैभन्दा बढी हिंसा, शोषण र विभेदको शिकार बन्ने गरेका छन्।
आज पनि हाम्रो समाजमा महिलालाई बच्चा जन्माउने र उत्पादन गर्ने उद्योगको रूपमा मात्रै हेर्ने मानसिकता कायम छ। के महिलाहरू केवल बच्चा जन्माउने उद्योग मात्रै हुन् त? महिलाहरू मानसिक रूपमा सक्षम, दक्ष र सृजनशील छन् भन्ने कुरा विश्वभरका महिलाहरूले गरेका ऐतिहासिक योगदानले प्रमाणित गरिसकेको छ। तर, नेपाली समाजले यो तथ्यलाई स्वीकार्न अझै सकिरहेको छैन।
एउटी महिला बिहान ३ बजेदेखि राति ९ बजेसम्म घर, मेलापात, पानी पधेंरो, बालबच्चाको हेरचाह गर्दै अहोरात्र खटिन्छिन्। तर, त्यही महिला समाजमा हिंसा, विभेद र शोषणको शिकार बनिरहेकी हुन्छिन्।
चुनावी राजनीतिमा पुरुषहरू अघि र महिला पछि, आर्थिक अवसरमा पुरुषहरू अघि र महिला पछि। के महिलाहरूले कहिल्यै यो विभेदको अन्त्य हुने दिन देख्न पाउनेछन्?
अब समय आएको छ, महिलाहरू घर समाल्ने मात्र होइन, देश हाँक्ने सामर्थ्य राख्नेछन् भन्ने सन्देश दिनुपर्ने। महिला सशक्तिकरणका लागि शैक्षिक, राजनीतिक र आर्थिक क्षेत्रमा समान अवसर प्रदान गरिनुपर्छ।
निर्मला पन्त हत्या जस्ता घटना दोहोरिन नदिन, हिंसा र शोषणका विरुद्ध आवाज उठाउन, महिलाहरू एक ढिक्का भएर अगाडि बढ्न अत्यावश्यक छ। कुनै पनि महिला आफ्ना हक अधिकारबाट बञ्चित हुन नपरोस्। समृद्ध नेपालको सपना महिला अधिकार र सहभागिता बिना सम्भव छैन।
अन्त्यमा, सबै महिलाहरूलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।
नारी सशक्तिकरणबाटै समृद्ध राष्ट्रको निर्माण सम्भव छ।
“जहाँ सम्मान छ, त्यहाँ समृद्धि छ। जहाँ समानता छ, त्यहाँ न्याय छ।” जय नारी !