उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नया मंगलबारेमा बिहिबार बिहान एक मृग कुकुरको खेदाइबाट घाइते बनेपछि मृत्यु भएको छ।
सालबारी सामुदायिक वन क्षेत्रबाट भुलेर बस्तीमा छिरेको मृगलाई बिहान करिब ८:३० बजे स्थानीय कुकुरहरूले खेदाएका थिए। कुकुरको आक्रमणले घाइते बनेको मृगलाई उद्धार गर्न वन कर्मचारी घटनास्थल पुगेका थिए। मृगलाई समातेर प्राथमिक उपचारका लागि सामुदायिक वनकै खोरमा राखिएको सव डिभिजन वन कार्यालय मंगलबारेले जनाएको छ । तर घाईते अवस्थाको उक्त मृगको दिउँसो करिब ३ बजेतिर मृत्यु भएको वन कार्यालयका प्रमुख वन अधिकृत नविनराज दाहालले बताए ।




शुक्रबार दिउसो ३ नम्बर वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी, अस्थायी प्रहरी चौकीका प्रहरी, वन कर्मचारी लगायतको रोहबरमा उक्त मृगको शवलाई विधिपूर्वक गाडेर अन्त्येष्टि गरिएको वन अधिकृत दाहालले बताए ।
वन कार्यालयका अनुसार सो मृग वयस्क भाले थियो। जसको तौल करिव ५० केजी, उचाइ ३५ इञ्च र लम्बाइ ६० इञ्च रहेको थियो।

यता वन अधिकृत नविनराज दाहालका अनुसार मृग सम्भवत: आहारा खोज्दै गाउँ पसेको थियो। उनले भने, “ गाउमा पसेपछि कुकुरको खेदाइले सो मृग सामान्य घाइते भएको थियो । कुकुरको आक्रमण पनि हुनसक्छ। यो संवेदनशील जनावर हो, मुटु नै फुटेर मर्ने सम्भावना धेरै हुन्छ।”
यस्तै उनले चोरी शिकारी नियन्त्रणका लागि नियमित गस्ती भइरहेको उल्लेख गर्दै वन क्षेत्र नजिकका सडकहरूमा गति सिमा तोक्न आवश्यक रहेको बताए।




