–महेश भण्डारी,( BSc Ag छैटौं सेमेस्टर)
उर्लाबारी, साउन १४ । वैदेशिक रोजगारीको अनुभवलाई स्वदेशमै सदुपयोग गर्दै कृषि उद्यममार्फत सफलताको नयाँ उदाहरण प्रस्तुत गरेका उर्लाबारी–२ का कृषक यदु नारायण घिमिरे अहिले उर्लाबारी क्षेत्रका उदाहरणीय कृषी व्यावासयी बनेका छन्।
सुनौलो भविष्यको सपना बोेकेर करिव पाँच वर्ष साउदी अरबमा पसिना बगाएका घिमिरेले विदेशको मोह त्यागेर स्वदेशमै स्वावलम्वी बन्ने सोचले २०७२ सालबाट च्याउ खेती सुरु गरे ।
भाडामा लिएको आठ धुर जग्गा, २ लाख ५० हजार रुपैयाको सानो लगानीबाट १ हजार ४ सय सिलिन्डर राखेर सुरु गरिएको व्यावसाय, निरन्तरको मेहनत, लगनशिलता र आधुनिक कृषि प्रविधिको प्रयोगले अहिले करोडौं रुपैयाँको कारोबार गर्ने कृषि उद्यममा रूपान्तरण भएको छ ।
हाल घिमिरेले व्यवसायलाई थप विस्तार गर्दै (डुम्रे) मा १ बिघा ५ कठ्ठा तथा उर्लाबारी–४ किसान चौकमा १ बिघा क्षेत्रफलमा आधुनिक ल्याब सञ्चालन, गुणस्तरीय बीउ उत्पादन तथा व्यावसायिक च्याउ खेती गर्दै आएका छन् ।
हाल करिब २ बिघा ५ कठ्ठा क्षेत्रफलमा २२ हजार सिलिन्डर क्षमतामा उत्पादन गरिरहेको बताउछन् ।
२०७४ सालमा विन्ध्या च्याउ उद्योगका रुपमा दर्ता भएपछि हाल उद्योगले वार्षिक करिब १ लाख २० हजार केजी च्याउ उत्पादन गर्दै आएको छ भने वार्षिक कारोबार करिब १ करोड १५ लाख रुपैयाँसम्म पुग्ने घिमिरे बताउँछन् । च्याउ खेतीसँगै मौसमअनुकूल भिन्डी, घिरौला, टमाटर, काउली लगायतका तरकारी उत्पादनसमेत गर्ने गरेको उनि बताउछन् ।
यस उद्योगले आर्थिक गतिविधिसँगै स्थानीय रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ । हाल उक्त उद्योगमा ३ जना स्थायी कर्मचारी कार्यरत छन् भने मुख्य उत्पादनको सिजन मंसिर–पुसमा थप २० जनासम्मले प्रत्यक्ष रोजगारी पाउने उनि बताउछन् ।
पूर्वमा दमकदेखि पश्चिममा धरानसम्म बजार विस्तार गर्न सफल विन्ध्या च्याउ उद्योगले गुणस्तरीय उत्पादन र विश्वासिलो सेवाका कारण छुट्टै पहिचान बनाएको छ । मिल्की ह्वाइट (दुधे च्याउ) र कन्या च्याउ उत्पादन गर्दै आएका घिमिरेले मागअनुसार च्याउको बीउ उत्पादन तथा नयाँ किसानलाई आवश्यक प्राविधिक ज्ञान र परामर्शसमेत प्रदान गर्दै आएका छन् ।


“विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै देशको माटोमा मेहनत गर्ने सोचले च्याउ खेती सुरु गरेको हुँ। कृषि क्षेत्रमा धैर्यता, प्रविधि र निरन्तर मेहनत गर्न सके सफलता अवश्य प्राप्त गर्न सकिन्छ,” घिमिरेले बताए ।
संघर्षका प्रारम्भिक दिनहरूमा आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन साइकलको सहारा लिएका घिमिरेले निरन्तर प्रयासपछि बाइक, अटो हुँदै अहिले आफ्नै पिकअप भ्यान सञ्चालन गर्न सफल भएका छन् । त्यही व्यवसायबाट आर्जित आम्दानीले १ कठ्ठा ६ धुर जग्गा खरिद गर्न समेत सफल भएका छन् । उनको यात्रा मेहनत, आत्मविश्वास र उद्यमशीलताको प्रेरणादायी उदाहरण बनेको छ ।
च्याउ उत्पादनमा तापक्रम व्यवस्थापन, आद्रताको कमी, हावाहुरी, झिङ्गाको प्रकोप तथा हरियो ढुसी (न्चभभल :यमि) जस्ता चुनौतीहरू रहेको घिमिरेको अनुभव छ । उत्पादन सफल बनाउन २०–२५ डिग्री सेल्सियस तापक्रम र उचित वातावरण व्यवस्थापन आवश्यक रहेको उनी बताउँछन् ।
घिमिरेले प्रदेश सरकारबाट करिब १४ लाख रुपैयाँ अनुदान प्राप्त गरे पनि स्थानीय तहबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको गुनासो गरे । वास्तविक किसान पहिचान गरी सहुलियत कर्जा, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा राज्यले ध्यान दिन सके कृषि क्षेत्र अझ आकर्षक र सम्मानित पेशाका रूपमा विकास हुने उनको विश्वास छ ।
विन्ध्या च्याउ उद्योग प्रदेशकै उत्कृष्ट तथा उर्लाबारी नगरपालिकाको उत्कृष्ट च्याउ उत्पादक कृषकको रूपमा सम्मानित भइसकेको छ । स्वदेशमै बसेर आधुनिक कृषि उद्यममार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै यदु नारायण घिमिरे आज धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय