मोरङ । यातायात व्यवसायीहरूको आन्दोलनका कारण सोमबार सार्वजनिक यातायात ठप्प भएको छ । आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यका, कोशी प्रदेशको राजधानी विराटनगर लगाएत देशभरको जनजीवन प्रभावित बनेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायातका साधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।
संगठनले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।
यसैबीच, आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।”








