उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएको छ।
धिमाल युवा प्रतिभा पुरस्कार छनौट समितिको धिमाल परियोजना स्थल, मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जाति कै पहिलो एमबिबिएस डा. सुजना धिमाललाई “धिमाल युवा प्रतिभा पुरस्कार” प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए ।
दमक–२, खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उतिर्ण गरेकि हुन । मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उतिर्ण गरि समुदाय बाटै पहिलो डाक्टर हुन सफल भएकाले उनको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले जानकारी दिए ।
हरेक बर्ष असार २ गते जातिरी/ सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएको महासचिव मातृका धिमालले जानकारी दिए । सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएको छ ।








