उर्लाबारी, ३२ असार । नगरको गौरवको आयोजनाका रुपमा निर्माण भएको उर्लाबारी नगरपालिका–३ स्थित कृष्णचौक–सुनझोडा सडकको दायाँबायाँ वृक्षारोपण कार्य सुरु गरिएको छ। बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेलले धुपीको विरुवा रोप्दै सडक सौन्दर्यीकरण कार्यको शुभारम्भ गर्नुभयो।
सडक छेउछाउ हरियाली प्रवर्द्धनका लागि फूलका विरुवा, धुपी लगायत विभिन्न प्रजातिका विरुवाहरू रोप्ने, नियमित सरसफाई गर्ने र आकर्षक सडक बत्ती जडानजस्ता कार्यहरू पनि सम्पन्न भइसकेको निर्माण कम्पनीका संचालक अर्जुन तुम्रोकले जानकारी दिनुभयो।




कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष भिष्मराज बुढाथोकी, समाजसेवी खड्गकुमारी निरौला ‘ठुल्दिदी’ लगायतको सहभागिता रहेको थियो। नगर प्रमुख खरेलले उर्लाबारीका सबै सडकलाई सुन्दर र हरियालीयुक्त बनाउने अभियानमा स्थानीयवासीको सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।




