उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा टर्मिनल भवनसहितको आधुनिक बसपार्क निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
नगरपालिकाको वडा नं. ६ मा एक बिघा १३ कठ्ठा क्षेत्रफलमा बन्न लागेको बसपार्कको सोमबार नगर प्रमुख गङ्गाप्रसाद खरेलले शिलान्यास गर्नुभएको हो ।
बसपार्क निर्माणको जिम्मा पाएको अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालिले ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्नेछ । सम्झौता अनुसार आयोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
आयोजना उर्लाबारी नगरको ६० प्रतिशत ऋण, ३० प्रतिशत आन्तरिक लगानी र १० प्रतिशत नगर विकास कोषको अनुदानबाट बसपार्क निर्माण थालनी गरिएको नगर प्रमुख खरेलले बताउनु भयो ।
७० हजार जनसंख्या भएको उर्लाबारीबाट सहायक मार्ग र पूर्व–पश्चिम एसियन हाइवेमा चल्ने सवारीसाधनलाई व्यवस्थित गर्न बसपार्क निर्माण गरिएको हो ।
यसअघि २०७१ सालमै स्थानीयले निःशुल्क रूपमा उपलब्ध गराएको जग्गामा बसपार्क निर्माण प्रक्रिया सुरु गरिएको थियो। तर, राज्य पुनर्संरचनापछि बजेट अभावका कारण योजना ठप्प भएको थियो ।
वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलका अनुसार तत्कालीन संघीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपालसिंह जिमीको पहलमा प्रदेश र संघीय कार्यालय पुगिए पनि बजेट अभावकै कारण योजना अघि बढ्न सकेको थिएन ।
नयाँ आयोजना अन्तर्गत टर्मिनल भवन, रनवे, सपोर्टवाल, ड्रेन, मुख्य राजमार्गदेखि बसपार्क जोड्ने कालोपत्रे पहुँचमार्ग, स्थानीय तथा लामो दूरीका सवारी साधनका लागि पार्किङ क्षेत्र, प्रतीक्षालय, लगायतका पूर्वाधार निर्माण गरिने अभि डिजाइनर्स प्रालिका निर्देश नवीन गौतमले बताए ।
कार्यक्रममा नगर उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता, वडाध्यक्षहरु चिन्तामणी पौडेल, तिलक पाण्डे, नर बहादुर मोक्तान, उर्मिला थापा, सव डिभिजन वन कार्यलय उर्लाबारीका प्रमुख नविन दाहाल लगायय विभिन्न राजनीतिक दलका प्रतिनिधि, जग्गा दाता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय