उर्लाबारी, ६ साउन । नेपाली कांग्रेसका नेता तथा नेपाली लोकतान्त्रिक आन्दोलनका महान योद्धा विश्वेश्वर प्रसाद (विपी) कोईरालाको ४३ औं स्मृति दिवसको अवसरमा उर्लाबारीमा वृक्षारोपण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बिपी अध्ययन प्रतिष्ठान, उर्लाबारी नगर समितिको आयोजनामा सालबारी सामुदायिक वन क्षेत्रमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएको हो । कार्यक्रममा नेपाली जनतामा लोकतन्त्र, समाजवाद र राष्ट्रियताको जग बसाल्ने महामानव विपीको योगदानको स्मरण गरिएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सोमप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एसईई परीक्षामा सतप्रतिशत नतिजा निकाल्न सफल उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयका १८ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यालयका प्रधानाध्यापक सुवास सापकोटालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले नेपाली राजनीति, लोकतन्त्र, मानव अधिकार र समाजवादको आधार निर्माण गर्ने महामानव विपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्तहरू आज पनि जीवित र सान्दर्भिक रहेको बताउदै फागोले भन्नुभयो– “विपी केवल एक नेतामात्र होइन्‌न, लोकतान्त्रिक मूल्य र दृष्टिकोणका आधार स्तम्भ हुनुहुन्थ्यो, उहाँका विचारहरूबाट कांग्रेस मात्रै होइन, अन्य राजनीतिक दलहरू अहिले पनि प्रेरित भइरहेका छन्।”
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गोमा नेपाल, बानु सुब्बा, प्रदेश सदस्य अर्जुन कुमार तुम्रोक, जिल्ला सदस्य तथा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. २ का वडाध्यक्ष कुमार कडेल, नगर सचिव दीपक भट्टराईलगायत विभिन्न भातृ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै गोमा नेपाल, महासमिती सदस्य सिता कार्की र अर्जुन तुम्रोकले विपीले अघि सारेको समाजवाद र समतामूलक दृष्टिकोणले नै आजको शिक्षित र सशक्त समाजको आधार तयार भएको उल्लेख गर्नुभयो । उहाँहरूले पार्टीभित्र एकता बल भएको र बाहिर चर्चा भएजस्तो द्वन्द्व नरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष ध्रुवचन्द्र पराजुलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष मेनुका लुइँटेलले राख्नुभएको थियो ।
विपी कोइरालाले नेपाली समाजलाई लोकतन्त्रको मूलधारमा ल्याउन निरंकुशताको विरुद्ध संघर्ष मात्र गरेनन्, नेपाली जनताको चेतना अभिवृद्धिमा पनि ऐतिहासिक भूमिका खेल्नुभएको थियो । उहाँको राजनीतिक, बौद्धिक र साहित्यिक योगदान आज पनि नेपाली राजनीतिको मार्गदर्शक बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय