उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी नगरपालिका–६ र ७ मा रहेको नेपाल टेलिकमको इन्टरनेट तथा टेलिफोन सेवा वितरणका लागि बिछ्याइएको करिब २०० मिटर तार चोरी गर्ने घटनामा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १८ गते राति उक्त क्षेत्रबाट टेलिकमको तार चोरी भएको जानकारी प्रहरीले पाएपछि उक्त क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।
घटनाका बारेमा शुक्ष्म निगरानी गरिरहेको प्रहरीले भोलिपल्ट साउन १९ गते घटना स्थलको सिसीटीभी फुटेजका आधारमा अनुसन्धान गरी चोरीमा सम्लग्नलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रञ्जन बरालले बताउनुभयो ।
प्रहरीले अनुसन्धानको क्रममा झापा जिल्ला मेचीनगर नगरपालिका–१३ का २५ वर्षीय विशाल राजवंशी र झापा गाउँपालिका–१० का २५ वर्षीय सागर चौधरीलाई उर्लाबारी नगरपालिका–७ बाट पक्राउ गरेको जनाएको छ ।
टेलिकमको तार चोरी भएको स्थान इलाका प्रहरी कार्यालय उर्लाबारीदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ पर्ने बताइएको छ । चोरी भएका तार चोरहरुले मावा खोला किनारको कासघारीमा ढडाउने र तार झिकेर विक्री गर्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय