उर्लाबारी । मोरङको उर्लाबारी-६ मा रहेको सूर्य बचत तथा ऋण सहकारीमा २७ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।
संस्थाका बजार प्रतिनिधि रोजित पौडेललाई सो रकम हिनामिना गरेको आरोप लगाइएपनि सञ्चालक समितिकै मिलोमतोमा रकम हिनामिना भएको आरोप लगाइएको हो ।
बजार प्रतिनिधि पौडेलले एक्लैले यति ठूलो रकम हिनामिना गर्न सम्भव नरहेको भन्दै छोरा सोझो भएका कारण फसाएको उनका बुवा होमप्रसाद पौडेलको भनाई छ । पौडेलसहित अर्का एक कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले २७ लाखभन्दा बढी रकम हिनामिना गरेको देखिएकाले संस्थाको निणर्य बमोजिम इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी हालेको बताउनुभयो । उहाँले हिनामिनामा जोसुकै संलग्न भएपनि कार्वाहीको भागिदार बन्नु पर्ने बताउनुभयो ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रोजितका बुवा होमप्रसाद पौडेलले संस्थाका उपाध्यक्ष नारादमणी नेपालको नेतृत्वमा ११ धुर जग्गासहित घर हड्प्ने काम गरेको आरोप लगाउनुभयो ।
छोराले हिनामिना गरेको रकम असुल्ने भन्दै उपाध्यक्ष नेपालको जोडबलमा सो जग्गा धर्मप्रसाद भण्डारी र भानुभक्त रिमालको नाममा रजिस्टे्रसन पास गरेर हडप्ने काम भएको उहाँको भनाई छ ।
छोरालाई कानुनी कार्वाही नगर्ने भन्दै जग्गा रजिस्टे्रसन पास गरेको तीन दिनभित्रै प्रहरी लगाएर पक्राउ गर्ने काम भएको उहाँले जानकारी दिनुभयो । सहकारीका सञ्चालकले गरेको हिनामिना छोरालाई थोपार्ने काम भएको भन्दै न्यायका लागि सहयोग गरिदिन सम्पूणर् उर्लाबारी नगरबासीहरुमा अपिल गर्नुभएको छ ।
संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले जग्गा संस्थाले लिएर हिनामिनाका विषयमा उन्मुक्ति दिने काम नहुने स्पष्ट पार्नुभयो । ‘जग्गा संस्थाले लिएको छैन’ उहाँले भन्नुभयो-‘ जसले जग्गा लिएको छ, उसैले जान्ने कुरा हो ।’
ADVERTISEMENT