उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ दिलुङटारमा एकै परिवारका ३ जनाको हत्या भएको छ ।
स्थानीय ३७ वर्षका राजकुमार बस्नेतसहित उनकी ३३ वर्षकी पत्नी सरिता र १२ वर्षका छोरा सुजनको हत्या भएको उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार कोदारले बताए । उनका अनुसार तीनैजनाको खुकुरी प्रहार गरी हत्या गरिएको हा े।
तीनैजनाको शव दिउँसो स्थानीय वालिङ खोलामा फेला परेको थियो । स्थानीयले सूचना दिएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । हत्याको आरोपमा राजकुमारकै दाजु पर्ने ४० वर्षका नरबहादुर बस्नेत पक्राउ परेको डिएसपी कोदारले बताए ।
उनले भने, ‘मृतककै नाता पर्ने एक पुरुष समातिएका छन्। उनले आफैंले हत्या गरेको स्वीकारोक्ति जनाइसकेका छन्। हाम्रो टोली अहिले घटनास्थलमा नै छ ।’ प्रहरीले नरबहादुरकै साथबाट हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT