
काठमाडौं, भदौ २४ ।
बीपीले लेखेको कांग्रेसको पहिलो चुनावी घोषणापत्र, गाउँका बेकार जनतालाई कांग्रेसले भूमि सेनामा संगठित गर्नेछ ।
(आउँदो ४ मंसिरमा देशभर एकैसाथ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । गाउँ शहर र टोल बजारमा चुनावी चहलपहल बढिसकेको छ । आकांक्षीहरू उम्मेदवारी टिकटका लागि दौडधुप गरिरहेका छन् । राजनीतिक दलहरू चुनावी घोषणापत्र बनाउँदै छन् । आज हामीले २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले वितरण गरेको चुनावी घोषणापत्र जसलाई कांग्रेस संस्थापक नेता बीपी कोइरालाले लेखेका थिए ।)
देशमा पहिलोपटक हुन लागेको आमचुनावको महान् अवसरमा नेपाली कांग्रेस देशका सम्पूणर् बासिन्दालाई अभिवादन गर्दछ । खेतमा काम गर्ने किसान र खेताला, कारखानामा लागेका मजदुर, उद्योगधन्दामा लागेका व्यापारी, विभिन्न कारोबार र पेसामा लागेका अन्य नागरिक, जंगी या निजामतीतर्फका विभिन्न सरकारी कर्मचारी, आईमाई, तरुण, विद्यार्थी, शिक्षित समुदाय, जमिनदार, सन्त महन्त, सुब्बा, राई थरी मुखिया जिम्मावाल धनी, गरिब, सबैका समिपमा नेपाली कांग्रेस चुनावको आफ्नो सन्देश यसै पत्रमार्फत पठाउँदैछ ।




वर्तमान युगअनुसार नौलो शासन व्यवस्था स्थापित गर्नका निमित्त उत्सुक नेपाली जनताले २००७ सालको क्रान्तिका रूपमा एउटा ऐतिहासिक कदम लिएका थिए । त्यस क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्यो । निरंकुश राणा शासनले देशको उन्नतिका तमाम बाटाहरू अवरुद्ध गरेको थियो ।
राष्ट्रिय निष्प्राण भएर सामन्ती बन्दोबस्तको अन्धकारमा डुबेको थियो र तर राष्ट्र यसरी मर्दैन । २००७ सालको जनक्रान्तिका रूपमा राष्ट्रिय उन्नतिको भावनाले सामूहिक उद्घोषका रूपमा अभिव्यक्ति पायो । त्यस क्रान्तिले रुढिगत सामन्ती व्यवस्थाको आधारशिलाका रूपमा रहेको राणाशाहीलाई उखेली फ्याँक्यो । त्यस क्रान्तिको सीमित लक्ष्य वा तात्कालिक लक्ष्य विध्वंसात्मक थियो । यस अर्थमा यसले राणा व्यवस्थालाई समाप्त गरिदियो । तर, त्यस क्रान्तिको महान् लक्ष्य त्यति मात्र थिएन । वस्तुतः केही आधारभूत राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन त्यस क्रान्तिको उद्देश्य थियो ।
आधुनिक समयको आवश्यकताअनुसार देशलाई उन्नतिको बाटोमा हिँडाउनु क्रान्तिको उद्देश्य थियो । राणा शासनको समाप्ति अथात् तात्कालिक लक्ष्य त २००७ सालमा तुरुन्तै प्राप्ति भयो, त्यसअनुकूल प्रजातन्त्रको बीजारोपण पनि भयो भन्न सकिन्छ । तर, चुनावका माध्यमबाट जनताको इच्छाअनुसार शासन व्यवस्था कायम हुने काम अझै हुन सकेको छैन । आठ वर्ष भनेको सानो समय होइन तर हाम्रो राष्ट्रले जनताको इच्छाबमोजिम एउटै पनि ठोस कदम चाल्न सकेको छैन । यसबीचमा सरकारको गठनका मामिलामा अनेकानेक प्रयोग भए ।
क्रान्तिपश्चात् साधारणतः सबैजसो देश अनिश्चित वातावरणबाट गुज्रन्छन् । झन् २००७ सालपछि भएको अनेकानेक प्रयोगले त देशको राजनीतिक स्थिति झन् अनिश्चित हुन पुग्यो । यस्ता समयमा भ्रम उत्पन्न गराउन चाहने र प्रजातन्त्रको उपहास गर्न सिपालु प्रतिगामी तत्त्वले मनपरी गर्न निकै मौका पाए । तर, त्यै पनि यो आठ वर्षको समय सित्तैँ गयो भन्न सकिन्न । प्रतिगामी शक्तिहरूको षड्यन्त्र र चेष्टाका प्रयासका बाबजुद प्रजातन्त्रले नेपाली जनताको हृदयमा जरो गाडिसकेको छ । अब नेपाल क्रान्तिपूर्वक दिशामा कदापि फिर्न सक्दैन ।
आज हाम्रो देशका जनताका अनुहारमा दरिद्रता र अज्ञानताको स्पष्ट छाप छ । हाम्रा नेपाली दाजुभाइका खानपिन रहनसहन लामो यातनाको कथा हुन पुगेको छ । अनेकानेक नदी नालाले सिञ्चित हाम्रो मुलुकको मलिलो माटोको अभाव छैन । हामीसित हरियाभरिला जंगलहरू छन् । पहाडमा लाखौँका खानी छन् । नदी र झरनामा लुकेर रहेको विद्युत्शक्ति छ । नेपाली जातिको उद्यम र अनुशासनउपर पनि आजसम्म कसैले शंका गर्न सकेको छैन । यति प्राकृतिक सम्पदा र सद्गुण हुँदाहुँदै पनि नेपाली समाज अझै दरिद्रता र अशिक्षाद्वारा पीडित छ ।
राष्ट्रले य अवस्थाबाट हर हालतमा मुक्ति प्राप्त गर्नु आवश्यक छ । वर्तमान आमचुनावले हामीलाई मुक्तिको महान् अवसर प्रदान गरेको छ । चुनावद्वारा जनताले हाम्रो देशको प्राकृतिक उपलब्धिको समुचित व्यवस्था र उपभोग गर्न सक्ने राजनीतिक एवम् आर्थिक बन्दोबस्त स्थापित गर्नुपरेको छ । ठीक यसै अर्थमा आगामी चुनावको महत्त्व छ । चुनाव आज हाम्रा निमित्त राष्ट्रिय उत्थानको बाटो भएर अघि उपस्थित भएको छ ।
नेपाली कांग्रेस समाजवादी संस्था हो । यसको अन्तिम लक्ष्य एउटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन । धन दौलतका अभावमा उत्पन्न भएको सानाठूलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ । अरु पनि अनेकौँ थरीका सामाजिक अन्याय र असमानता देशमा व्याप्त छन् । ती सबै अन्याय र असमानतालाई समाप्त पारी पारस्परिक मेल, सद्भावना र सहकारिताका आदर्शबाट प्रेरित एउटा ठूलो राष्ट्रका रूपमा हाम्रो वर्तमान समालाई पुनर्गठित गर्नु नेपाली कांग्रेसको ध्येय हो । यसै बाटोबाट राष्ट्रको बढीभन्दा बढी उन्नति हुन सक्छ ।
नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको बाटो छोटो छैन । यस अवस्थामा देशले निकै लामो र कष्टसाध्य उकालोको बाटो छिचोल्नु छ । तत्कालीन हाम्रो समाजमा समाजवादी अक्ष्य प्राप्त गर्ने साधन उपलब्ध छैनन् यी साधनलाई सुस्तरी प्राप्त गर्दै प्रजातान्त्रिक पद्धतिद्वारा हामीले समाजवादका महान् लक्ष्यका तर्फ अग्रसर हुँदै जानु छ । नेपाली कांग्रेसले प्रथम आमचुनावमा सफलता पाएको खण्डमा सर्वप्रथम निम्न किसिमका कदम चाल्नेछ ।
गाउँ, किसान र जग्गा
जग्गामा आधारित हाम्रो अर्थ व्यवस्थामा नेपाली कांग्रेस सर्वप्रथम भूमि सुधारका तर्फ ध्यान दिन आवश्यक ठान्दछ । गाउँ र गाउँका विकास सम्पन्न भए मात्र उद्योगधन्दा पनि फैलिनेछन् । भूमि सुधार नगरी तसर्थ हामी नेपाललाई उन्नतिको बाटामा लैजान सक्ने छैनौँ । भूमि सुधारका मुख्यतः दुई स्वरूप हुनेछन् ।
क) भूमिबाट सामन्ती शोषण समाप्त गरी किसान र खेतालाको अधिकार सुरक्षित राख्नु ।
ख) वैज्ञानिक तरिका र उपायलाई अपनाएर जग्गाको उत्पादन बढाउनु ।
यदि जमिनबाट समान्ती शोषण समाप्त गर्न सकिएन भने उत्पादनका वैज्ञानिक पद्धतिले प्रधानता पाउन सक्ने छैन । राज्यको अधीनमा रहका जग्गाहरूमा वैज्ञानिक खेतीको तरिका अपनाइनेछ । त्यसबाहेक समाजलाई गतिशील बनाउन किसानका उपरको दबाब, अन्याय र अत्याचारलाई मनोवैज्ञानिक प्रेरणाका निमित्त पनि निमिट्यान्न पार्नु बडो आवश्यक छ । तसर्थ यस दिशामा नेपाली कांग्रेसले निम्नलिखित कदम अविलम्ब चाल्नेछ ।
१. जंगलको संरक्षण ः जंगल हाम्रो देशको राष्ट्रिय सम्पत्ति हो । हाम्रो जायदाद, एवम् पुँजीको मुख्य अंग एक प्रकारले जंगल नै छ । जस्ता प्रकारले अचेल जंगल फाडिँदैछ, सो देशका निमित्त बडो घातक कुरो हो । नेपाली कांग्रेसले देशको जंगलको वैज्ञानिक रूपले व्यवस्था गर्नका लागि जंगलको राष्ट्रयकरण गर्नेछ । तर आमजनतालाई व्यावहारिक उपयोगका निमित्त चाहिने आवश्यक खर, पात, दाउराको यथेष्ट सुविधा नेपाली कांग्रेसले प्रदान गर्नेछ । गाउँका छेउछाउका जंगलको व्यवस्था र इन्तजाम प्रचलित रीति नीतिलाई ध्यानमा राख्दै बनेका सरकारी नियम अनुकूल गाउँलेले गर्नेछन् ।
२. विर्ताको राष्ट्रियकरण हुनेछ ।
३. रजौटा प्रथाको समाप्ति ।
४. जमिनदारी प्रथाको समाप्ति ।
५. जमिनको अधिकतम सीमा निर्धारण एवम् हदबन्दी भन्दा माथिका जमिनको पुनर्वितरण ।
६. जंगलबाहेक अरु खालका भूमि सम्पत्तिमा पुनर्वितरण गर्दा क्षतिपूर्ति दिने कुरा नेपाली कांग्रेसले सिद्धान्ततः स्वीकार गरिसकेको छ । क्षतिपूर्तिको रकम कति हुनेछ भन्ने कुरामा अथवा जमिनको हदबन्दी कति हुनेछ भन्ने विषयमा सरकारले संसदीय प्रणाली अनुकूल विशेषज्ञहरूको सल्लाह लिनेछ । त्यसै सल्लाहअनुरूप सरकाले निणर्य गरी यस दिशामा काम गरिनेछ।
७. सरकारले सहकारी खेतीलाई प्रोत्साहित गर्नेछ । सरकारी मद्दतले जमीनका सानासाना टुक्रालाई कित्ताबन्दी गरी किसानहरूलाई आपसमा सहयोग र सहकार्य गरी वैज्ञानिक किसिमबाट खेती गराउने व्यवस्था गराउनेछ ।
८. जिल्ला जिल्लामा सरकारी प्रेरणा र सहायताले कृषि बैंक अथवा अन्न कोषको निर्माण गरी गरीब किसानलाई सस्तो ब्याजमा कर्जा दिने व्यवस्था सरकारले मिलाउनेछ । यस्ता बैंक या कोषको साधारण नियम सरकारले बनाउनेछ । तर, यी बैंकलाई चलाउने मुख्य जिम्मेदारी स्थानीय जनताका प्रतिनिधिको हुनेछ । यिनै स्थानीय प्रतिनिधिद्वारा बैंकको नीति निर्धारण हुनेछ ।
९. सरकारले असल बिउ तथा मलको वितरणको व्यवस्था मिलाउनेछ एवम् ठाउँठाउँमा आदर्श खेतीको प्रदर्शन गरिनेछ ।
१०. देशमा पटकपटक परिरहने सुक्खा र अनिकालको डर हटाउन बाँध पानीको राम्रो बन्दोबस्त अविलम्ब मिलाइनेछ । आजसम्म बनेका प्रयोगधर्मी सरकारहरूले यस दिशामा शून्यप्रायः कदम लिएका छन् । नेपाली कांग्रेसले यसलाई प्राथमिकता दिनेछ । यो बाँध कुलोको व्यवस्था र योजना पनि सरकारको नाम मात्रको निरीक्षणमा स्थानीय जनताको हातमा रहनेछ । प्रत्येक जिल्लाका निमित्त आवश्यक निश्चित आर्थिक सहायता सरकारले तुरुन्त दिने बन्दोवस्त मिलाउनेछ ।
११. गाउँको उन्नति नै देशको उन्नति हो । यस सत्यलाई कार्यान्वयन गर्न देशका प्रत्येक गाउँलाई सुसंगठित बनाउन एवम् सुधार्न नेपाली कांग्रेसले ठोस कदम लिनेछ ।
आज नेपाली कांग्रेसको नारा गाउँ सपार र गाउँ फर्क हुन गएको छ । माथिका विभिन्न भूमि सुधारका योजनालाई क्रियान्वित गरिने वास्तविक थलो गाउँ नै भएको हुँदा नेपाली कांग्रेसले ग्रामीण संगठनलाई प्रजातान्त्रिक एवम् सुदृढ बनाउन आफ्नो पुरा लागत लगाउने छ । नेपाली कांग्रेसले शासनको विकेन्द्रीकरणको निमित्त गाउँलाई आधार बनाई आफने कार्यक्रम बनाउने छ ।
१२. गाउँका बेकार जनतालाई नेपाली कांग्रेसले भूमि सेनाका रूपमा संगठित गर्नेछ । यस भूमि सेनाले कुलो, बाँध, सडक तथा बाँझो जग्गालाई आवाद गर्नका निमित्त विशेष परिश्रम गर्नेछ । यससम्बन्धमा प्रशिक्षण प्राप्त भूतपूर्व सैनिकहरूबाट सहयोग लिनका निमित्त विशेष कोसिस गरिनेछ ।
१३. घरबारविहिन किसानलाई बसोबासको व्यवथ । पहिल्यै आवाद भएका तर हाल पर्ति परेको जग्गा, लाभ नहुने जंगल फाँडेर बनाएको जग्गा र हदबन्दी भन्दा माथिका जग्गा जग्गाविहीन किसानहरूलाई प्राथमिकता दिएर बाँडिनेछ । जग्गा आवाद गर्न आवश्यक ऋणको प्रबन्ध पनि सहकारी समितिको मार्फतबाट सरकारले नै गर्नेछ ।
उद्योग धन्दा एवम् कल कारखाना
राष्ट्रको सम्पन्नता उद्योग धन्दाको विस्तारमा नै निर्भर गर्छ । यसपटकको चुनावमा नेपाली कांग्रेसले भूमिसुधार भूमिको उत्पादनमा वृद्धि र ग्रामीण सुधारलाई प्राथमिकता दिएको छ तापनि व्यापार र उद्योगधन्दापट्टि पनि नेपाली कांग्रेसले ध्यान दिएको छ । आजसम्मको अनिश्चित सरकारी नीति र विरोधी कारबाहीका कारणले उद्योगधन्दालाई ठूलो नोक्सान पुगेको छ । व्यापारी र उद्योगपति दुइटैलाई कुनै प्रकारको सहयोग र उत्साहित गर्ने प्रेरणा आजसम्मका सरकारले दिएका छैनन् । नेपाली कांग्रेसलाई दृढ विश्वास छ कि सरकार बनाउन पाएमा यसमा भएका त्रुटिपूणर् कारबाहीमा सुधार ल्याएर नेपाली कांग्रेसले शीघ्रातिशीघ्र उद्योगधन्दा र व्यापारका विकासका लािग आवश्यक वातावरणको सृष्टि गर्नेछ ।
१. मुद्रामा वैज्ञानिक ढंगबाट सुधार र दृढता । यस दिशापट्टिको आजसम्मको प्रयोग असन्तुलित एवम् अवैज्ञानिक छ । देशमा राष्ट्रिय मुद्राको मात्र प्रचलनको लक्ष्य नेपाली कांग्रेसले राखेको छ ।
२. व्यापारसम्बन्धमा सुनिश्चित नीति ।
३. द्रुत गतिबाट औद्योगिकीकरण गर्न नेपाली कांग्रेसले उद्योग धन्दाको विस्ताका निमित्त तीन किमिमको स्तरको कल्पना गर्दछ ।
क) साना साना ग्रामीण तथा घरेलु उद्योगधन्दा ।
ख) मझौला उद्योगधन्दा ।
ग) धेरै पुँजीबाट सञ्चालित हुने आधारभूत उद्योगधन्दा ।
४. क) नेपालमा पुँजीको अभाव भएको र गाउँको उन्नतिको नेपाली कांग्रेसको परिकल्पना भएको हुँदा साना साना र घरेलु उद्योगधन्दा एवम् कल कालखानापट्टि नेपाली कांग्रेसको ध्यान गएको छ । घरेलु उद्योगबाट राष्ट्रिय आवश्यकताको पूर्तिको निमित्त जति सामग्री उत्पादित हुन सक्छ, त्यसको निम्ति राष्ट्र, घरेलु उद्योगधन्दामा नै निर्भर हुन सकोस् एवम् राष्ट्रिय यथासम्भव यी सबै वस्तुका निम्ति परामुखापेक्षी नरहोस् भन्ने नेपाली कांग्रेसको विचार छ । यस प्रकारको घरेलु उद्योगधन्दामा सहकारिताको सिद्धान्तलाई प्राथमिकता दिइनेछ ।
३. (ख) व्यक्तिगत पुँजीको संरक्षणको जिम्मेदारी सरकारले लिनेछ । मझौलाखाले उद्योगधन्दाको विकासको मुख्य जिम्मेदारी व्यक्तिगत पुँजीपतिहरूको हातमा नै रहनेछ । यस स्तरमा हुने औद्योगिक विकास कार्यका निम्ति सरकारद्वारा सकेसम्म मद्दत पुँजीपतिहरूले पाउनेछन् ।
३. (ग) ठूलाठूला न उद्योगधन्दा र आधारमूलक उद्योगको विकासको प्राथमिक जिम्मेदारी सरकार के हुनेछ । यस निम्ति विदेशबाट पुँजी झिकाउने व्यवस्था पनि सरकारले गर्नेछ । नेपाली कांग्रेस विदेशी सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूवाट ऋण लिने विचारको विरोधी छैन । विदेशी पुँजीलाई प्रश्रय दिइनेछ तर, उक्त पुँजीले सरकारी नियमको पूणर् मर्यादामा रहनुपर्नेछ ।
अहिले चालूमै रहेका निर्माण एवम् विकास कार्यहरूको सम्पादनमा अहिले बढी शिथिलता छ । त्यसलाई हटाएर प्रशासनयन्त्रको सुधारद्वारा ती कामलाई तुरून्त टुंग्याइनेछ ।
मजदुर नीति
कलकारखानामा काम गर्ने मजदुर वर्गको कल्याणका निमित्त तथा उनीहरू एवम् कलकारखानाका मालिकहरूको बीचको सम्बन्धलाई राम्रो बनाउन गतिलो मजदुर ऐन पास गर्ने निश्चय नेपाली कांग्रेसले गरेको छ ।
प्रशासन
वर्तमान प्रशासनयन्त्र अत्यन्त ढिलो र अवैज्ञानिक छ । सरकारी कामहरूमा यसै कारणले बाधा उत्पन्न भएको अनुभव सबैले गरेका छन् । जनताको परेशानी बढेको छ । अतयवः जुन उद्देश्य र कार्यक्रमलाई लिएर नेपाली कांग्रेसले सरकार बनाउनेछ, त्यसलाई कार्यन्वित गर्न सकिने लायकको सुधार प्रशासनयन्त्रमा नेपाली कांग्रेसले ल्याउनेछ ।
१. प्रशासनयन्त्रको भ्रष्टाचार एवम् अदालतहरूमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । प्रशासनयन्त्र जनताको भलाइनिमित्त हो । तर, जनताको शोषण गर्नका निम्ति यसको उपयोग भइरहेको छ । शासन भार लिनेबित्तिकै घुसखारी एवम् भ्रष्टाचारलाई नेपाली कांग्रेसले निर्मूल गर्नेछ हामीलाई विश्वास छ कि सरकारले इमानदारीपूर्वक यस व्यापक रोगमाथि दृष्टि दिएको खण्डमा यस रोगलाई निर्मूल पारिनेछ भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमानदार एवम् कर्तव्यपरायण कर्मचारीलाई कदर गर्ने नेपाली कांग्रेसको सरकारले प्रतिज्ञा गर्दछ ।
२. प्रशासनिक यन्त्रमा वैज्ञानिक ढंगले सुधार योग्य तथा इमानदार कर्मचारीहरूको नियुक्ति र कदर गर्नु र सरकारी कर्मचारी सेवाको संरक्षण गर्नु सरकारको जिम्मेदारी हुनेछ ।
३. प्रशासनको विकेन्द्रीकरण ः अहिले प्रशासनयन्त्रमा ठूलो शिथिलता छ । यसले गर्दा सरकारी काममा विघ्न बाधा परिरहन्छ । त्यसलाई हटाउन एवम् साथै प्रजातन्त्रको सिद्धान्तलाई स्थानीय जनताको व्यवहारको वस्तु बनाउन निम्ति नेपाली कांग्रेसले शासन व्यवस्थामा विकेन्द्रीकरणको सिद्धान्तको प्रयोग गरी समुचित सुधार गर्नेछ । गाउँ सुधारसित सम्बन्धित परिच्छेदमा गाउँलाई नै शासनयन्त्रको सबैभन्दा तल्लो खुड्किलो बनाउने कुरो बताइसकिएकै छ । जिल्लाको व्यवस्थाको निम्ति स्थानीय जनताका प्रतिनिधिहरूको कमिटी बनाइनेछ र विभिन्न कामको जिम्मेदारी तिनै कमिटीलाई सुम्पिनेछ ।
स्थानीय निर्माण कार्य, बाँध कुलो आदिको व्यवस्था कृषि वैकको जिम्मेदारी, शिक्षण संस्था एवं अस्पताल आदिको सञ्चालन, यातायात प्रविधि कार्य जिल्लाका प्रतिनिधिहरूको कमिटीले गर्नेछ । प्रारम्भमा सरकारको रेखदेखको व्यवस्था हुनेछ, पछि सुस्तसुस्त सम्पूणर् जिम्मेदारी जिल्लाका प्रतिनिधिहरूमाथि नै रहेनछ । यी सबै कामको व्यवस्थाका लागि जिल्लावाट हुने आम्दानीको रकमको निश्चित भाग छुट्याइनेछ ।
जुन जिल्लामा जिल्लाको आम्दानी अपर्याप्त हुन्छ, त्यस जिल्लामा केन्द्रबाट आर्थिक मद्दत पुर्याइनेछ । विभिन्न क्षेत्रका सविशेष स्थानीय समस्याको जिम्मेदारी त्यस क्षेत्रका जनताक हातमा रहनेछ । किपटको सम्बन्धमा किपटीहरू र स्थानीय जनताको राय सल्लाह एवं माग नभै कुनै प्रकारको बाधा वा विरोध हुन दिइने छैन ।
शिक्षित समुदाय एवं महिला वर्ग
१. देश निर्माणको योजना सम्पादित गर्न नेपाली कांग्रेस खास गरेर शिक्षित समुदायबाट सहयोग प्राप्त गर्ने आशा राख्दछ । अहिले निर्वाचनमा मात्र हैन, निर्वाचन पछि शासन व्यवस्था र निर्माणकार्यमा शिक्षित समुदायले ठूलो जिम्मेदारी वहन गर्नु छ । अतः नेपाली कांग्रेसले उनीहरूको सरकारीस्तरमा सहयोग लिनेछ एवं उनीहरूको वौद्विक स्वतन्त्रताको पनि रक्षा गर्नेछ ।
२. सरकारद्वारा गरिने प्रत्येक कार्यमा राष्ट्रिय दृष्टिकोण अपनाएर देशका प्रत्येक जनतालाई समान अवसर र अधिकार उपल गराइनेछ । सरकारी नियुक्तिमा छात्रवृत्ति दिदा एवं अन्य यस प्रकारका कार्यमा यस समय अपनाइएको पक्षपातपूणर् नीतिलाई पूणर्तः बहिष्कार गरेर नेपाली कांग्रेसले राष्ट्रिय दृष्टिकोण राख्नेछ । महिला र पिछडिएका वर्गका सबै अधिकारको संरक्षण हुनेछ । एवम् शिक्षाद्वारा तिनको बौद्धिक विकास गराउने विशेष व्यवस्था गरिनेछ ।
धर्म
धर्मको सम्बन्धमा हाम्रो नीति स्पष्ट छ । देशमा धेरै थरि धर्म मान्ने मानिस छन् । ने। का। यिनको साझा सरकार हुनेछ । अतः सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म एवम् विधि विधान मान्ने र त्यस अनुसार उपासना गर्न पूणर् स्वतन्त्रता दिनु पर्छ ।
सबै धर्मावलम्वीहरूलाई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधि विधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी नेपाली कांग्रेस दिन्छ । कसैले कसैको धर्ममा बाधा दिन खोज्छ भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूणर् शक्ति लगाउने विश्वास दिलाउँछ । नेपाली कांग्रेसलाई आफ्नो संस्कृति प्यारो छ, र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहन्छौ ।
शिक्षा, स्वास्थ्य एवं यातायात
नेपाली कांग्रेस शिक्षा, स्वास्थ्य एवम् यातायातको व्यवस्था को सर्वप्रथम आवश्यकता सम्झिन्छ । अतः शिक्षा एवम् स्वास्थ्यको व्यापक व्यबस्था, यातायातको समुचित विकास एवम् संचारको राम्रो प्रबन्ध गर्न नेपाली कांग्रेसले आफ्नो सम्पूणर् तागत लगाउनेछ ।
न्याय
नेपालमा न्याय प्रशासन सर्बसाधारणको लागि सजिलो, सस्तो, निष्पक्ष र सुलभ गराउने व्यवस्था हुनेछ ।
भाषा
नेपालको राष्ट्रभाषा नेपाली हुनेछ । देशका अन्य क्षेत्रीय भाषाहरूको रक्षा एवम् संवर्द्धन नेपाली कांग्रेसको सरकारले गर्नेछ, क्षेत्रीय भाषाले आ-आफ्नो क्षेत्रमा प्रमुखता पाउनेछ
वैदेशिक नीति
नेपाली कांग्रेसको विदेश नीति सबै राष्ट्रसित समानताका आधारमा मित्रता कायम गर्नु हुनेछ । नेपाली कांग्रेस कुनै पनि सामरिक गुटमा लाग्ने छैन । संयुक्त राष्ट्र संघको आफ्नो सदस्यताको सदुपयोग नेपालले शान्ति प्राप्ति गर्नका निमित्त गर्नेछ। नेपाली कांग्रेसले आफ्ना महान् छिमेकी राष्ट्रहरूसित पूणर् मित्रता राख्नेछ ।
जय नेपाल ।
स्रोतः नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू ।