
उर्लाबारी । चुनावी खर्च विवरण समयमा नबुझाएपछि उर्लाबारीका मेयर र उपमेयरले निर्वाचन आयोगलाई साढे चार लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
मेयर गंगा प्रसाद खरेल र उपमेयर मिना कुमारी खतिवडा दुवैले साढे चार लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको निर्वाचन आयोगको वेब साइटमा राखिएको छ ।
आयोगको शुक्रबारको बैठकले चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गरेको भन्दै जरिवाना तोकेको हो । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको हो ।
आयोगले तोकेको जरीवाना ६ महिनाभित्र नतिरे निर्वाचित मेयर उपमेयरको पद नै खारेज हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञिप्ति जारी गर्दै करिब सवा लाख उम्मेरवारले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे हो । उनीहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही अगाडि बढाएको आयोगले जनाएको छ ।



