
उर्लाबारी । मोरङको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ मा १ करोड १६ लाख ६४ हजार ४८२ रुपैयाँ बचत गरेको छ ।
उक्त आर्थिक वर्षमा २ करोड ७६ लाख ५५ हजार ५० रुपैयाँ आम्दानी र १ करोड ५९ लाख ९० हजार ५६७ रुपैयाँ खर्च भएको आज आयोजित संस्थाको २० औं साधारणसभामा जानकारी गराइयो ।
उर्लाबारी-५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा आयोजित साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मेघराज श्रीपालीले हालसम्म उर्लाबारीका २ र ३ वडा बाहेकका सबै वडामा ५ हजार ५२५ धारा जडान भएको बताए । ती वडाका विभिन्न ठाउँमा गरी २५५.८८६ किलोमिटर पाइपलाइन बिस्तार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले नगरका ९ वटै वडाबासीलाई शुद्ध खानेपानी पुर्याउने अभियानमा नगरपालिका लागेको बताए ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल निकास आयोजना विराटनगरका प्रमुख चोकप्रसाद धिताल, खानेपानी महासंघ नेपालका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाई, संस्थाका पूर्वअध्यक्ष भूपाल सिं जिमी, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाली काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गजेन्द्र दंगाल, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष चन्द्रबहादुर पालुङ्वा, कार्यपालिका सदस्य कृष्ण वर्देवालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव मेघराज श्रीपालीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजकुमारी खतिवडाले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक डिवी थापाले लेखा समितिको प्रतिवेदन र कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच, साधारणसभामा पत्रकारिताको माध्यमबाट उर्लाबारी खानेपानीको बारेमा जनचेतनामूलक जानकारी गराएको भन्दै पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराईलाई नगद १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो । यस्तै संस्थाका प्राविधिक सहयोगी कर्मचारी रामप्रसाद फुयाललाई पनि नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले उर्लाबारीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्था तयार रहेको बताए । उनले उर्लाबारी खानेपानी यस क्षेत्रकै उत्कृष्ट खानेपानीको रुपमा चिनिएको बताए । कार्यक्रममा संस्थाका सदस्य मदनबाबु प्रसाईले स्वागत मन्तव्य राखेका थिए ।



