उर्लाबारी । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी चौकमा स्कोरपिओ गाडी र सीटी सफारी एकआपसमा ठोक्किँदा पथरीका सफारी चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सफारीमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ६८४५ नम्बरको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०२ ह ३०७ नम्बरको सफारी ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनमा परी सफारी चालक मोरङको पथरीशनिश्चरे १० वस्ने वर्ष २६ का सञ्जु उराउको उपचारका क्रममा झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा आईतबार विहान २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि घाईते भएका सफारीमा सवार पथरीशनिश्चरे-१० की २१ वर्षीया सानिया राई, पाल्मु तामाङ, २० वर्षीया कृति तामाङ, ओमा राई, १९ वर्षीया विष्णुमाया मगर र १८ वर्षीया रञ्जना राई घाइते भएका हुनु भएको छ । घाइतेमध्ये अचेत रहेकी विष्णुमायाकोे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उर्लाबारीस्थित अरनिको अस्पतालमा सम्भव नभएपछि घाइतेलाई थप उपचारका लागि बी एन्ड सी अस्पताल रेफर गरिएको छ । दुर्घटना पश्चात फरार बनेको स्कोरपिओ लाई मोरङको मधुमल्लाबाट नियन्त्रणमा लिएर चालक झापाको दमक नगरपालिका-२ का ४० वर्षीय सन्दीप बस्नेतलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
स्कोरपिओ चालकले अत्यधिक मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ADVERTISEMENT