विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१९ की प्रियंका सुनारको शव बोराभित्र भेटिएको छ ।
हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया सुनारको बीभत्स शव फेला परेको हो ।
विराटनगर महानगरपालिका-१९ की सुनारको शव मोरङको बूढीगंगा गाउँपालिका-२ अमाहीमा सोमबार दिउँसो १२ बजेतिर भेटिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा फ्यालेको अवस्थामा शव फेला परेपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रियंकाको हत्या भएको यकिन हुने कार्कीको भनाइ छ । ‘शरीरका अंगहरुमा चोट रहेको अवस्थामा शव फेला परेको हो,’ उनले भने, ‘अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएर शव फ्यालेको हाम्रो अनुमान छ ।’ घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा उनीहरुको संलग्नता यकिन भइनसकेको र थप अनुसन्धान अघि बढाइएको डीएसपी कार्कीले बताए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी रञ्जन दाहाल नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय