
उर्लाबारी, १४ चैत । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा-६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार गरेका छन् ।
आज देखी ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर-६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका छन भने वडा नम्वर-७ की वडाध्यक्ष शर्मिला थापामाथी हातपात भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
आज विहान करिव साढे ११ बजेको समयमा बन्द गराउदै हिडेका आन्दोलनकारीले आफुमाथी एक्कासी हातपात गरेको वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताउनु भयो ।
पौडेलले भन्नुभयो-“म ११ः१५ मा कार्यालय पुगेको थिए, कार्यालय पुग्दा स्थानिय पहिचानवादी नेतृत्वहरु मात्रिका धिमाल, दिलु लिम्वु, नाराएण चाम्लिङ, शमशेर राई लगाएत सग बसेर छलफल गरी बन्द गरेर प्यासेजमा निस्कदै गर्दा एक हुल छिरेर को वडाध्यक्ष भनेर सोधी गर्दा म हजुर भनेर नमस्कार गरे त्यसपछि म माथी एक्कासी आक्रमण सुरु भयो।”
वडाध्यक्षमा माथी एक्कासी आक्रमण हुन थालेपछि वडाध्यक्ष सगै रहेका स्थानिय सुरेश राईले छेक्ने प्रायास गर्नुभएको थियो ।
प्रतक्ष्यदर्शी राईले भन्नुभयो-“वडाध्यक्षसग लिडरहरु कुराकानी गरेर निस्कदै गरेको अवस्थामा वडाध्यक्ष सोध्दै आएको एउटा समुहले एक्कासी आक्रमण गर्यो मैले छेक्दाछेक्दै पनि अध्यक्ष माथी मुक्का प्रहार भयो।”
यस्तै बन्दको आव्हान गर्दै आएको पहिचानवादीहरुको समुहले उर्लाबारी वडा नम्वर-७ को कार्यालयमा पनि हुलहुज्जत गरी लछारपछार गर्न खोजेको वडा नम्वर-७ की वडाध्यक्ष शर्मिला थापाले बताउनु भयो ।
थापाले भन्नुभयो-“हामी वडा कार्यालयमा थियौ, ५०/६० जनाको एउटा समुह आयो को हो वडाध्यक्ष भन्दै भित्र पस्यो म हो हजुर भन्दै गर्दा मेरो हात समाएर तान्न खोजियो, मैले मेरो हात किन समाएको भनेपछि मेरो हात छाडे।”
उर्लाबारीमा आज स्थानिय नगरपालिको कार्यालय र मातहतका कार्यालय बन्द गराउदै हिडेका आन्दोलन कार्ता र प्रहरी विच केही समय नगरपालिकाको प्राङगाणमा सामान्य झडप समेत भएको थियो । झडपका क्रममा प्रहरीले आन्दोलन कारीले प्रयोग गरेको एउटा बाईक नियन्त्रणमा लिएको छ ।
वडाध्यक्ष माथी कुटपिट गर्ने र महिला वडाध्यक्षमाथी अभद्र व्यवहार गर्नेको पहिचान खुलीसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताउनुभयो ।



