
उर्लाबारी, १६ जेठ । मोरङको उर्लाबारी-५ स्कुलडाडामा रहेको अरनिको अस्पतालले आइसियु र सिटी स्क्यान सेवा विस्तार गर्ने भएको छ ।
सर्वसाधरण जनतालाई स्वास्थ्यमा सहज पहुच पुर्याउने उद्देश्यका साथ अस्पतालले नवौ वर्षमा प्रवेश गरेको अवसरमा छिटै नै आवश्यक तयारी गरेर ६ शैयाको आईसियु सेवा र सिटी स्क्यान सेवा विस्तार गर्न लागेको अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्वुले बताउनु भयो ।
२०७१ साल जेठ १५ गतेबाट सञ्चालनमा आएको हस्पिटलले नवौं वार्षिकोत्सवका अवसरमा सोमबार बिहान रक्तदान कार्यक्रम गरेको थियो भने उक्त दिन उपचारमा ३० प्रतिशत छुटका साथै औषधीमा पनि छुट गरेको थियो ।
दिउँसो आयोजित सम्मान कार्यक्रममा अस्पतालका अध्यक्ष लिम्बू, सल्लाहकार समिति संयोजक आइन्बा लिम्बू, मेडिकल डाइरेक्टर सन्दिप अधिकारीले अस्पतालको विभिन्न विभाग र शाखामा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। रेडक्रस उर्लाबारीको प्राविधिक सहयोग रहेको रक्तदानमार्फत ४३ पिन्ट रगत संकलन गरिएको थियो ।
यस्तै, सल्लाहकार समिति संयोजक आइन्बा लिम्बूले अरनिको हस्पिटलको आरोह अवरोह, हालको अवस्था र आगामी दिनमा जनहितमा पुर्याउने योगदानका बारेमा प्रकाश पारेका थिए ।
मेडिकल डाइरेक्टर डा. सन्दीप अधिकारीले अस्पतालले दिँदै आएको सेवा र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
प्रशासन विभाग प्रमुख रिपुराज भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुलीलगायतको आतिथ्यता रहेको थियो ।
अस्पतालले नवौं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुको कार्यसम्पादन मुल्याङकनका आधारमा १५ जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।



