
उर्लाबारी, ३० जेठ । पछिल्लो समय पुर्वपश्चिम राजमार्गको उर्लाबारी-पथरी सडक खण्डमा सडक दुर्घटना बढ्दै गएको छ ।
उर्लाबारी नगरपालिकाको पुर्वी सिमाना मावा खोला देखी पथरीशनिश्चरे नगरपालिकाको पश्चिमी सिमाना डाँस खोला सम्मको ९ किलोमिटर सडक खण्डमा पछिल्लो २ सातको अवधिमा २ वटा भयानक सडक दुर्घटना भए ।
दुर्घटनाका कारण २ वटा परिवारका बालबालिका टुहुरा भए भने श्रीमतीको सिँउदो पुछियो दुर्घटनाकै कारण रोजोरोटी गरी परिवार र बालबच्चाको शिक्षादिक्षा दिइरहेका अभिभावकले चटक्कै छाडेर जादा परिवारमा रहेकाहरुलाई भविष्यको चिन्ताले थप पिरोलेको छ ।
जेठ १६ गते मोरङको पथरीशनिश्चरे-२ जयचौकमा दिउसो करिव ३ः५० बजेको समयमा ससुराली पुगेर साईकलमा घर फर्किदै गरेका पथरीशनिश्चरे-२ का यज्ञ थापाको बसको ठक्करबाट मृत्यु भयो।
मोरङको कानेपोखरी गाउपालिका स्थित रमाईलोमा रहेको ससुरालीमा बास बसेर भोलिपल्ट पथरी बोक्रेचौक घर फर्किदै गर्दा पश्चिमबाट पुर्व जादै गरेको प्रदेश १-०१-००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसको ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भयो ।
ससुरालीबाट गाइबस्तुलाई खोले खुवाउने मकै बोकेर साईकलमा घर फर्कदै गरेका थापालाई तिव्रगतिमा रहेको बसले ठक्करदिदा उनको भयानक तरिकाले मृत्यु भयो ।
३ भाई छोरा र एक बहिनी छोरीका अभिभावक थापाको दुर्घटनामा परि शरिरको कम्मर देखी माथीको भाग र कम्मर मुनीको भाग २ टुक्रा हुदा थापाको मृत्यु सगै परिवारमा सन्नाटा छायो भने उनकी श्रीमतीको सिँन्दुर पुछिएको छ ।
पथरी बजार देखी स्थानिय सुनझोडा खोला सम्म बन क्षेत्र भएका कारण सो क्षेत्रमा यात्रुबहाक बस, मालबहाक ट्रक, निर्माण सामाग्री बोकेर हिडेका टिफर लगाएतका साना तथा ठुला सवारी साधन तिव्र गतिमा हुईकिने गरेका छन् जसका कारण सो क्षेत्रमा अन्य क्षेत्रको भन्दा वढी सडक दुर्घटना हुने गरेको स्थानियहरु बताउछन् ।
बन क्षेत्रमा सवारी साधनको तिव्र गतिका कारण पैदल यात्रा गर्ने यात्रिहरु, साईकल र मोटरसाईकलमा यात्रा गर्ने सर्वसाधरणहरु सधै जसो सो क्षेत्रमा दुर्घटनाको जोखिममा पर्ने गरेका छन् ।
पछिल्लो सयम उर्लाबारी देखी पथरी सम्म सडक मर्मत गर्ने क्रममा साविको सडक क्षेत्र भन्दा कम भागमा धारे पारेर गरिएको कालोपत्रे सडकका कारण सडकको किनारामा साईकल र पैदल यात्रि हिँड्ने बाटो नै नासिएकाले सडकमा चाप बढ्दा दुर्घटना बढेको पथरीशनिश्चरे वडा नम्वर २ का पुर्व जनप्रतिनिधी पर्शुराम न्यौपाने बताउनुहुन्छ ।
न्यौपाने भन्नुहुन्छ-“नयाँ कालोपत्रे सडकका कारण सडक किनार प्रयोग गरेर हिँड्ने पैदल यात्रि र साईकलयात्रि हिड्ने सडक किनार समेत मेटिएको छ यसले गर्दा सडकमा दुर्घटना बढ्दै गएको हो।”
सडकमा ठुला सवारी साधन मात्र हैन सडकको प्रयोग गरेर सहज र सरल रुपमा अवतजावत गर्न पाउने आम सर्वसाधरणको पनि बराबारी अधिकार हो ।
तर बन क्षेत्रमा तिव्रगतिमा सडकै ढाकेर प्रतिष्पर्धामा हुइकिने यात्रुबहाक बसका कारण सडक अनुशासन उल्लघन हुदा फुटपाथमा हिड्ने पैदल यात्रि, साइकल र मोटरसाईकल प्रयोग गर्नेहरु तिव्रगतिमा प्रतिष्पर्धात्मक शैलिमा हुइकिएका ठुला सवारी साधनको बतासले नै अनियन्त्रित भई दुर्घटनामा पर्ने जोखिम सो क्षेत्रमा रहेको मोरङ कानेपोखरीका साईकलयात्री भगिरथ गडतौला बताउनुहुन्छ ।
गडतौला भन्नुहुन्छ-“सडकमा सुरक्षित तवरले हिड्न सवैले पाउनु पर्छ तर, एकान्त र सुनसान क्षेत्रमा साईकलमा यात्रा गर्दा त्राईत्राई भएर हिड्नु पर्छ, सडकमा रातोरंगका गाडी र टिफरको आतङक खपिसक्नु छैन्, जंगलमा मात्र हैन बजार क्षेत्रमा पनि अटो र सफारीहरुले स्वाट्टै बाटो काट्ने गरेका कारण साईकल र मोटरसाईकल चढेर सडकमा निस्केको व्याक्ति सकुसल फर्केर घर पुग्ला नपुग्ला भन्ने चिन्ता हुन्छ।”
पछिल्लो समय पथरी उर्लाबारी सडक खण्डमा भएका भयानक दुर्घटनाका कारण मानविय क्षतिका साथै धनको पनि क्षति उत्तिकै मात्रामा भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरिक्षक योगेन्द्र सिंह खड्का अनुसार पछिल्लो समय यस सडक खण्डमा दुर्घटना बढ्नुको प्रमुख कारण किनारा नमिलेको सडक भएको बताउनु हुन्छ ।
खड्का भन्नुहुन्छ-“पथरी देखी मंगलबारे सम्मको ४ किलोमिटर सडक खण्डमा चालकहरुको तिव्रप्रतिष्पर्धा छ , साविकको बाटोको चौडाई भन्दा नया थपिएको कालोपत्रे ४ ईन्च भन्दा कम भएका कारण साईकल यात्रिहरु र पैदल यात्रिहरु समेत सडक किनारबाट हिड्न सक्ने अवस्था छैन, सो क्षेत्रमा सडक विभागले ट्राफिक सचेतनाका केही सुचक बोर्डहरु राखेपनि पर्याप्त नभएका कारण सडक अनुसाशन उल्लघन भएको छ, दुर्घटना न्युनिकरणका लागि आवश्यक स्थानमा केही सुचक बोर्डहरु थप्नुपर्ने भएकाले स्थानिय नगरपालिका सग समन्वय गर्दा बजेट छैन भनेर उहाहरु पनि पन्छिनु हुन्छ, यद्यपि हामीले दुर्घटना न्युनिकरणका लागि आवश्यक प्रयास भने गरिरहेका छौ।”
जेठ १६ गते भएको दुर्घटनाको आलो पिडा नसकिदै जेठ २५ गते विहिबार दिउँसो अर्को कहालीलाग्दो दुर्घटना भयो । जसमा वैदेशिक रोजगारीबाट घर फर्किएका झापा तोपगाछीका ३३ वर्षीय पवन सुवेदीको घटना स्थलमै मृत्यु भयो ।
वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका सुवेदी बैशाख १२ गते आफ्नी २ वर्ष ८ महिनाकी छोरीलाई स्कुलबसले ठक्करदिएर मृत्यु भएको खवर सुनेर नेपाल आएका थिए ।
२ छोरीका बाबु रहेका पवनकी ठुली छोरी पढ्ने स्कुलबसको ठक्करबाट मृत्यु भएकी छोरीको पिढाका रोदनहरु राम्रो सग ओइल्याउन नपाउदै ४३ औँ दिनको दिन मोरङको पथरीशनिश्चरे माईत गएकी श्रीमती लिन स्कुटरमा हिडेका सुवेदीको उर्लाबारी-३ नया मंगलबारेमा वसको ठक्करबाट उनको पनि घटना स्थलमै मृत्यु भयो ।
उनको मृत्यु सगै हुर्कदै गरेकी एक छोरी बाबु विहिन बन्न पुगिन, श्रीमतिले आफ्नो साहारा गुमाईन, कमाउने जमाउने र बुढेशकालको सहारा सुवेदीका आमाबुबाले जवान छोरालाई गुमाए ।
जेठ २५ गते दिउसो करिव ३ः१० बजे तिर पश्चिमबाट पुर्व जादै गरेकोे मे १ ख ३०३४ नम्वरको बसले विपरित दिशाबाट गइरहेको प्र-१-०१-०१३ प २९० नम्वरको स्कुटरलाई ठक्कर दिदा सुवेदीले चलाएको स्कुटर बसको अगाडीको भागमा आधा भन्दा धेरै भित्र पसेर अड्किएको थियो ।
स्कुटर र वस एक आपसमा ठोक्किएको ठाउबाट सुवेदीको शरिर १ सय ३५ फिट पर सडक किनारमा उछिट्टिएर पुगेको अवस्थामा थियो । उनले प्रयोग गरेको स्कुटर बसमा च्यापिएर बसले घिर्सादै २ सय ९५ फिट पर पुर्याएर सडक किनारमा बस रोकिएको प्रहरीको प्रारम्भिक घटना बिवरणले देखाएको छ ।
पछिल्लो समय उर्लाबारी नगरपालिकाको पश्चिम सिमाना सुनझोडा खोला देखी पुर्वी सिमाना मावा खोला सम्मको लगभग ५ किलोमिटर सडक खण्डमा भएका दुर्घटनाका बारेमा ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका ईनचार्ज प्रहरी शाहयक निरिक्षक निलमणी पोख्रेल भन्नुहुन्छ-“सडकको स्तर उन्नती भएसगै यात्रुबहाकवसहरु लगाएतका सवारी साधनको गति अन्य बेलाको भन्दा बढी रहेको छ, सवारी साधनको गति मापन गर्ने र्याडर गन हामी सग छैन, हामीले गति नियन्यत्रणका लागि सिमीत स्रोत र साधनको प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौ तर पनि दुर्घटनाहरु भै रहेका छन्, सोको न्युनिकरणका लागि हामीले ट्राफिक प्रहरीको चेकजाचलाई पनि बढाएका छौ साथै जोखिम युक्त स्थानमा सचेतनामुलक होर्डिङबोर्डहरु राख्न स्थानियपालिका सग सहकार्य गरेका छौ अव केही दिनमै जोखिम युक्त ठाउहरुमा सचेतनामुलक बोर्डहरु राख्ने छौ।”
सडक सवैको साझा भएपनि सडकमा ठुला सवारी साधनको हेपाई प्रवृतिका कारण पछिल्लो सयम दुर्घटना बढ्दै गएको स्थानियहरु बताउछन् ।
पुरानो कालोपत्रे सडकको स्तरउन्नती गर्दै नया थपिएको कालेपत्रेमा लेन लाइनरहरु नहुदा सवारीसाधनले बढीमात्रामा लेन अनुसाशन उल्लघन गरी तिव्रप्रतिष्पर्धामा हुइकिने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेको स्थानियहरुको भनाई छ ।
सडकलाई सुरक्षित राख्न सवैले सडक अनुशासनलाई मनै देखी पालना गर्नुपर्ने देखिन्छ । ट्राफिक नियम ट्राफिक प्रहरीको लागि नभएर सडक प्रयोगकर्ता लागि भनेर बुझन सके सडक दुर्घटना न्युनिकरण हुने र अनाहकमा हुने धनजनको क्षतिबाट बच्न र बचाउन सकिन्छ की !



