
उर्लाबारी, १० साउन । पछिल्लो समय उर्लाबारीमा फैलदै गएको डेंगु नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ ।
समुदायमा डेंगु फैलाउने लामखुट्टे पानी जमेकोखाल्डाखुल्डी, टायर, ड्रम, गमला, भाँडालगायतमा हुर्कने र त्यसले समुदायमा डेंगु फैलाउने गर्दछ ।
समुदायमा डेंगु फैलाउन लामखुट्टेको वासस्थान पहिचान गरी ति क्षेत्रहरुमा औषधी छिट्न सुरु गरेको छ ।
जस अन्र्तगत अहिले यो अभियान उर्लाबारी नगरपालिका वडा नं. ४ मा डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ ।
वर्षात्को समयमा जमेका पानीमा यो रोगको माध्यम मानिने लामखुट्टेको बृद्धि हुने भएकाले नियन्त्रण अभियान थालिएको वडाध्यक्ष कल्याणकुमार राईले बताए ।
वडाभित्र सञ्चालित विभिन्न ग्यारेज, होटल, पसलमा पुगेर जनचेतना जगाउँदै औषधी छिट्न सुरु गरिएको हो । आज पहिलो दिन पूर्वपश्चिम राजमार्ग आसपास रहेका ग्यारेज, पसल, होटल छेउछाउमा औषधी छिटिएको छ ।
डेंगुबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्ने, टायर, ड्रम, गमला, भाँडालगायतमा पानी जम्न नदिन जनचेतना जगाइएको वडा सदस्य शेखरनाथ दाहालले बताए । सो अवसरमा वडाध्यक्ष राई, सदस्यहरु शेखरनाथ दाहाल, अमृता नेपाली, सुरेन्द्र न्यौपाने, वडामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
वडाका प्रत्येक टोलमा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिने बताउँदै वडाध्यक्ष राईले आफ्नो घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमला, टायर, ड्रम लगायतमा पानी जम्न नदिनेलगायतका सतर्कता अपनाउन वडाबासीलाई आग्रह गरेका छन् ।



