इलाम, २ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका जो कोही व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निणर्य गर्न नहुने आज एक कार्यक्रममा बताए ।
थापाले भने, ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।’ नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए ।
भ्रष्टाचारमा जोडिएका जो-कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ । महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औँल्याए । अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निणर्यसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा कार्यक्रमलाई सम्वोधन गर्दै थापाले यस्तो बताएका हुन ।
ADVERTISEMENT