उर्लाबारी, ५ असोज । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवनको आज एक समारोहका विच औपचारिक उद्घाटन गरिएको छ ।
शुक्रवार एक कार्यक्रमका बिच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले संयुक्त रुपमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो ।
भवन उद्घाटनसँगै वडा कार्यालय भवन निर्माणका लागि तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गर्ने दमक-४ निवासी लक्ष्मीप्रसाद आचार्य र नरमाया आचार्यलाई सम्मान समेत गरियो ।


सो अवसरमा नगर प्रमुख खरेलले नगरको विकासका निम्ति आफूहरु कटिबद्ध भएर लागिपरेको बताउनुभयो । उर्लाबारीको विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासका लागि नगरले ध्यान दिएको उहाँको भनाई थियो ।
यस्तै उपप्रमुख मीना खतिवडाले नवनिर्मित वडा कार्यालय भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
सो अवसरमा उर्लाबारी-७ की वडाध्यक्ष उर्मिला थापा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सभापति तथा वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले नयाँ कार्यालय भवनबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।
२०७८ फागुन २० गते उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागो र उपमेयर लक्ष्मि देवी भण्डारीले सो भवनको शिलान्यस गरेको शिलापत्रमा उल्लेख छ ।
उक्त भवन १ करोड १३ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भई गत असार २९ गतेदेखि वडाको कामकाज सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
दुई तले सो भवनमा वडाध्यक्ष र राजश्व शाखा पहिलो तलामा रहेको छ भने वडा सदस्य र सचिवको कार्यकक्ष र सेमिनारहल माथिल्लो तलामा रहेको वडा सचिव बालकुमार बरालले जानकारी दिनुभयो ।
नगरपालिकाका अधिकृत भरत अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य दुर्गावति सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, वडाबासी जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय