उर्लाबारी, २२ असोज ।
किशोरकिशोरीमाथि हुने हिंसा र कुरीतिको अन्त्यका लागि उर्लाबारीमा उपमेयरसँग किशोरकिशोरी कार्यक्रम सुरु गरिएको छ । हिंसा र कुरीतिका सम्बन्धमा विद्यालयमा अध्ययनरत किशोरकिशोरीका समस्या बुझी न्युनीकरणका लागि यो कार्यक्रम सुरु गरिएको हो ।
आज उर्लाबारी–१ का दुई विद्यालयमा कार्यक्रम आयोजना गरी उपमेयर मीना खतिवडा पौडेलले किशोरकिशोरीका समस्याका बारेमा जानकारी लिनुभयो । शारदा माध्यमिक विद्यालय र बालज्योति आधारभुत विद्यालयका विद्यार्थीसँग उपमेयर पौडेलले अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा उनीहरुले भोगेका समस्याका बारेमा जानकारी लिनुभयो ।
सो अवसरमा उपमेयर पौडेलले लिंग र लैंगिकता बारे भ्रम र सत्य, महिला र बालबालिकामाथि हुने हिंसाका स्वरुप र हिंसाको प्रकार, कारण र असर, सामाजिक मूल्य मान्यता र यसबाट सिर्जित भेदभावका बारेमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफूले भोगेका समस्याका बारेमा गुनासा तथा जिज्ञासा राखेका थिए ।
पालिकाहरुमा उपप्रमुखकोे भूमिका महत्वपूर्ण हुने र कानुनले नै तोकेका वा अतिरिक्त समेत गरी धेरै जिम्मेवारी बहन गरिरहेका उपप्रमुखले विद्यालयका विद्यार्थीका गुनासा पनि सुन्नुपर्ने मान्यतामा यस प्रकारको कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ । उपमेयरसँग किशोरकिशोरी कार्यक्रम उर्लाबारीका सबै सामुदायिक विद्यालयमा सञ्चालन गरिने उपप्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाको महिला, बालबालिका शाखाकी कर्मचारी विष्णुमाया रम्तेलले पनि सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय