
उर्लाबारी,३असोज उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वको समयमा म्याद गुज्रिएका सामान बेच्ने, मूल्यसूची नराख्ने, कालोबजारी गर्ने जस्ता गुनासा आइरहेका बेला आज नगरपालिकाका दुई वटा टोलीले बजार अनुगमन गरेको हो ।
नगर प्रमुख गंगाप्रसाद खरेल नेतृत्वको टोलीले उर्लाबारी–७ तथा उपप्रमुख मीना खतिवडा पौडेलको नेतृत्वमा वडा नं ५ र ६ का किराना, कस्मेटिक, होटललगायतमा अनुगमन गरेको हो ।




अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामान नगरपालिकाको टोलीले जफत गरेको छ । कतिपय पसलमा मूल्य सूची नभएको, पसल पिच्छे फरक फरक मूल्य पाइएको छ ।
नगरपालिकाले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ गरेको छ ।
साथै, व्यवसाय दर्ता तथा नवीकरण गर्न व्यापारी व्यवसायीलाई आग्रह गरिएको नगरपालिका अनुगमन समिति संयोजक तथा उपप्रमुख मीना खतिवडा पौडेलले जानकारी दिइन् । यस्तै उनले बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताइन् ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।