उर्लाबारी, ११ भदौ । मोरङको उर्लाबारीमा आगामी असोज ३ गते सातौँ उर्लाबारी रन आयोजना गरिने भएको छ ।
सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
आज उक्त कार्यक्रमका बारेमा पत्रकार सम्मेलन आयोजकले जानकारी दिएको हो ।
यस वर्ष विभिन्न स्थानका १ हजार ५ सय जना रनरले सहभागिता जनाउने अपेक्षा गरिएको संस्थाका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको खुलातर्फ पुरुष महिला दुवैतर्फ विजेताले ३०÷३० हजार, दोस्रोले १५÷१५ हजार र तेस्रो हुनेले १०÷१०हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।
यस्तै भेट्रानतर्फ गत बर्ष महिला रनरहरुको सहभागिता रहेको थियो भने यस वर्ष भेट्रान तर्फ पुरुष रनरहरुको मात्रै सहभागिता रहने आयोजकले जनाएको छ ।
भेट्रान पुरुष रनर बिजेताले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।
यस्तै, १५ वर्षमुनिका बालबालिकाबिच ५ किलोमिटर दौड प्रतियोगिता गरिने भएको छ । जसमा महिला पुरुष दुवैतर्फ प्रथमले ५÷५हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार र चौंथोले १÷१ हजार रुपैया पुरस्कार पाउने छन् ।
यस्तै उर्लाबारी भरिका १५ वर्ष मुनिका रनरहरुको पनि यस पटक छुटै दौड प्रतियोगिता गराईने भएको छ । जसमा केटा र केटी दुवै तर्फ प्रथम हुनेलाई ४÷४ हजार, दोस्रो हुनेलाई ३÷३ हजार र तेस्रो हुनेलाई १÷१ हजार रुपैया पुरस्कार साथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहोराले बताए । यस्तै सस्थाले भदौ १४ गते उर्लाबारीका ३२ वटा माध्यमिक तहका विद्यालयहरुलाई समावेश गराएर हाजिरी जवाफ प्रतियोगिता समेत गराउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय