उर्लाबारी, २४ भदौ । पूर्वी मोरङ चार पालिकाका बासिन्दालाई मालपोत सम्बन्धी सेवा सहज बनाउने उद्देश्यले उर्लाबारीमै मालपोत र नापी कार्यालय ल्याउने पहल सुरु भएको छ ।
यसै विषयलाई मुर्त रुप दिन आइतबार उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको अन्तरपालिका बैठक सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकामा आईतबार भएको बैठकमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो, अधिकृत नवीन खुलाल, रतुवामाई नगरपालिकाकी उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत संजय राजलवट, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल र लेखा अधिकृत सुशील बाँस्तोलालगायतको सहभागिता रहेको थियो ।
बैठकले उर्लाबारीमा मालपोत र नापी कार्यालय ल्याउन सम्बन्धित मन्त्रालयमा पहल गर्ने निणर्य गरेको छ ।
उर्लाबारी, पथरीशनिश्चरे र मिक्लाजुङका सबै वडा तथा रतुवामाईको वडा नं. ८, ९ र १० गरी जम्मा ३१ वडाका दुई लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्न मालपोत कार्यालयको आवश्यकता महसुस गरी पहल सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
बैठकमा सहभागी जनप्रतिनिधि र कर्मचारीले यस क्षेत्रका जनताको सहजताका लागि ती कार्यालय ल्याउनु पर्ने बताएका थिए ।
उर्लाबारीका नगर प्रमुख खरेलले केही दिनअघि काठमाडौं जाँदा ती दुई कार्यालय ल्याउने प्रक्रियाका बारेमा जानकारी लिएर सो बैठक राखिएको बताए।
अब चार वटै पालिकाको कार्यपालिकाले निणर्य गरी आवश्यक कागजात पूरा गरी प्रक्रियामा जाने नगर प्रमुख खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय