उर्लाबारी, २५ भदौ । संविधान दिवसको अवसरमा उर्लाबारीमा आयोजना हुने ‘उर्लाबारी रन २०८१’ को तयारी तीब्र गतिमा भइरहेको छ ।
सामुदायिक विकास मञ्च उर्लाबारी-६ को आयोजनामा असोज ३ गते हुने उर्लाबारी रनमा देश तथा विदेशका गरी पन्ध्र सय धावकहरुले दौड्ने भएका छन् ।
यसैक्रममा उर्लाबारी र आसपासका विद्यालय तथा क्याम्पसमा गई प्रचार गरिँदै आएको छ भने उर्लाबारीका राजनैतिक दल, जनप्रतिनिधी, संघसस्थाका प्रमुखहरु सग अन्तरक्रिया कार्यक्रम समेत गर्दै अध्यक्ष प्रेम बोहोराले बताउनुभयो ।
साथै उहाले प्रचार सामग्रीसहित झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा भेटघाट, छलफल गरी कार्यक्रमलाई भव्य बनाउन लागि परेको बताउनु भयो ।
सातौं संस्करणको उर्लाबारी रनमा १ हजार ५ सय जना धावकहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिनेको सो प्रतियोगिताको खुलातर्फ पुरुष र महिला दुवै विजेताले ३०/३० हजार, दोस्रोले १५/१५ हजार र तेस्रोले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहोराले बताउनुभयो ।
यस्तै भेट्रानतर्फ यस पटक पुरुष रनरहरुको मात्रै सहभागिता रहने आयोजकले जनाएको छ । भेट्रानतर्फ बिजेताले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।
यस्तै १५ वर्षमुनिका बालबालिका धावकहरुबिच ५ किलोमिटरको दौड आयोजना गरिने भएको छ । जसमा महिला र पुरुष दुवैतर्फ प्रथमले ५/५ हजार, दोस्रोले ३/३ हजार, तेस्रोले २/२ हजार र चौथौँले १/१ हजार रुपैया पुरस्कार पाउने छन् । यस्तै यस पटकको दौडमा उर्लाबारीभरिका १५ वर्ष मुनिका रनरहरुबिच समेत छुट्टै दौड प्रतियोगिता हुने बताइएको छ । जसमा महिला पुरुष दुवैतर्फ प्रथम हुनेलाई ४/४ हजार, दोस्रो हुनेलाई ३/३ हजार र तेस्रो हुनेलाई १/१ हजार रुपैयाले पुरस्कृत गरिनेछ ।
उर्लाबारीमा स्थापना भएर क्रियाशील रहेका मध्येको पुरानो संस्था सामुदायिक विकास मञ्चले सामाजिक क्षेत्रमा विविध कार्यहरु गर्दै आएको छ । सरसफाई अभियान, रक्तदान कार्यक्रम, विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण लगायतका कार्यहरु वर्षेनि गर्दै आएको अध्यक्ष प्रेम बोहोराले बताउनुभयो । संस्थाले २०७४ सालदेखि सञ्चालन गर्दै आएको उर्लाबारी रनलाई निरन्तरता दिँदै आएको छ ।
ADVERTISEMENT