उर्लाबारी, १ असोज । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो २२ औँ साधरण सभा सम्पन्न गरेको छ ।
उर्लाबारी-५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा भएको कार्यक्रममा संस्थाले उक्त आर्थिक वर्षमा भए गरेका कार्यहरुको प्रतिवेदन पेश गरिएको थियो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष चिन्तामणि पौड्यालको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका सचिव मेघराज श्रीपाली, कोषाध्यक्ष तेजकुमारी खतिवडा, लेखा समितिका संयोजक डिवी थापा, कार्यालय प्रमुख राजु बुढाथोकीले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार संस्थाले हालसम्म ८ हजार ९ सय ८५ धारा जडान र ४६५.५१६ किमि पाइपलाइन बिस्तार गरेको उल्लेख छ ।
एक वर्षको अवधिमा १ हजार ७ सय १ धारा जडान गरेको छ भने ९७.५१४ किलोमिटर पाइपलाइन विस्तार गरेको छ । आर्थिक वर्ष २०८०।०८१ मा संस्थाले उर्लाबारीका विभिन्न वडामा खानेपानी विस्तार गरेको हो ।
संस्थाले आफ्नो कार्यक्षेत्र सहित रतुवामाई नगरपालिका वडा नं. १०, पथरीशनिश्चरे नगरपालिका वडा नं. ५, दमक नगरपालिका वडा नं. ४ र १० तथा मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का कतिपय स्थानमा खानेपानी वितरण गर्दै आएको सचिव मेघराज श्रीपालीले बताउनु भयो ।
स्वच्छ खानेपानी वितरण गर्दै आएको संस्थाले पानीको गुणस्तरको अवस्थाको बारेमा उपभोक्तालाई जानकारी गराउनका लागि आफ्नै कार्यालयमा रहेको प्रयोगशालाबाट पानी परीक्षण गरी रिपोर्ट उपभोक्ताहरुले देख्ने गरी महशुल काउण्टरको अगाडि नियमित रुपमा राख्ने गरेको, संस्थाको समग्र जानकारीलाई समेटी उर्लाबारी खानेपानी नामक मोवाइल एप्लिकेशन सञ्चालन गरिएको, संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालु आर्थिक वर्षमा थप २५ सय धारा जडान गर्ने लक्ष्य राखेको छ । उर्लाबारीमा किस्ताबन्दीमा धारा, पिउँछन् पानी नगरबासी सारा भन्ने नारालाई आत्मसाथ गर्दै किस्ताबन्दीमा धारा जडान गर्ने कार्यलाई निरन्तरता दिइने, वडा नं. २ मा खानेपानी ट्याङ्की नभएको नभएकोले उक्त क्षेत्रका उपभोक्ताको खानेपानी समस्या समाधानका लागि सालबारी, लक्ष्मीपुर खानेपानी तथा सरसफाई आयोजना नेपाल सरकारसँग सहलगानी कार्यक्रम अन्तर्गत माग गरिएको हुँदा उक्त आयोजना चालु आवमा जग्गा व्यवस्थापन गरी कार्य अघि बढाउने लक्ष्य लिइएको सचिव श्रीपालीले बताउनुभयो ।
गत आवमा संस्थाको सञ्चालनतर्फ आम्दानी ४ करोड २३ लाख १९ हजार तथा खर्च २ करोड ८६ लाख ९५ हजार भई १ करोड ३६ लाख २४ हजार बचत रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पुँजीगततर्फ २९ करोड ७९ लाख ९८ हजार आम्दानी तथा २४ करोड ७० लाख ८ हजार खर्च भई ५ करोड ९ लाख ९० हजार बचत रहेको जनाइएको छ । उर्लाबारी खानेपानी देशभरमै उत्कृष्ट खानेपानीको रुपमा नेपाल सरकारबाट सम्मानित भएको अध्यक्ष चिन्तामणि पौड्यालले बताउनुभयो ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ । सहायक स्तर द्वितीय (प्लम्बर) घनेन्द्रप्रसाद दुलाल र बोधराज खनाललाई नगदसहित सम्मान गरिएको छ भने पत्रकार ज्योति शर्मालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख सुरजलाल चौधरी, उर्लाबारी नगरपालिकाकी पूर्व नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी, खानेपानी महासंघका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाईँ, नगर राजनीतिक दलका प्रमुखहरु, वडाध्यक्षहरु, उद्योग वाणिज्य संघका अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।
ADVERTISEMENT