पथरी, १ असोज । मोरङको पथरी शनिश्चरेमा आयोजना हुन लागेको प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप खेलकुद प्रेमीहरूको लागि ठूलो अवसर बन्ने तयारीमा छ।
३ लाख रुपैयाँ राशीको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता आगामी असोज ५ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजित यस गोल्डकपको अन्तिम तयारी सम्पन्न भएको गोल्डकप संयोजक जितन राईले जानकारी दिनुभयो ।
खेलकुदका माध्यमबाट स्वास्थ्य र राष्ट्रको प्रगतिको लक्ष्य पूरा गर्न खेलकुदको महत्वलाई विशेष ध्यानमा राख्दै आयोजना गरिएको राईले बताउनुभयो ।
प्रतियोगिता संचालनका लागि मुख्य प्रायोजकमा ईन्ट्रा ईन्टरनेसनल वेल फेयर अमेरिका, मुख्य सहयोगिका रुपमा पथरीशनिश्चरे नगरपालिका, सह-प्रायोजकमा सिजल एण्ड सिस्टर अमेरिका र प्रायोजकका रुपमा के.आइ.इ.सी कन्सल्टटेन्सी ईटहरी, एग्रो थाई फुड्स, साग्रीला फुटबल क्लव अमेरिका, प्याव्सन पथरीशनिश्चरेले जस्ता संस्थाहरु प्रयोजकका रुपमा रहेको आयोजकले बताएको छ ।
पथरी-११ फुटबल क्लबको आयोजनामा हुने यो प्रतियोगितामा काठमाडौँका दुई क्लब, भारतको एक क्लब र मोफसलका अन्य चर्चित क्लबहरूको समावेश गरी कुल आठ टिमको सहभागिता रहने छ ।
पथरी शनिश्चरे-१, जाँते मोडमा प्रस्तावित रंगशालामा हुने प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पथरी-११ फुटबल क्लब का अध्यक्ष सुमन विकले यो प्रतियोगिता फुटबलको उत्कर्षमा रहेका क्लबहरूको प्रतिस्पर्धा हेर्नका लागि उत्कृष्ट प्लेटफर्म हुने र फुटबलको स्तरलाई नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको पहिलो खेल असोज ५ गते शनिबार आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब फिदिम बीच हुने छ ।
त्यसपछिका खेल क्रमशः झापा ११ फुटबल क्लव झापा र धरान सिटि, यु. के. एफ. सि भारत र शंकटा फुटबल क्लव काठमान्डौ र असोज ८ गते ब्रिगेड बाईज कल्व काठमान्डौ र सहलेस युवा क्लव सिरहाका विचमा हुने भएको छ ।
आयोजकले खेल मैदानको ग्राउण्ड लेब्लिङ, रोलिङ, ग्राँस ट्रिमिङ, र स्टेज निर्माणको काम पूरा गरेको छ । साथै, खेल मैदानको वरिपरि ३ हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माण गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, र सम्पूणर् प्रतियोगिता भरमा लगभग ७० हजार दर्शकले खेलको प्रत्यक्ष मज्जा लिने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा पथरी नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, नगर खेलकुद विकास समितिका संयोजक पूर्व राष्ट्रिय फुटबल खेलाडी दीपक राई, जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी, प्रायोजक के.आइ.इ.सी का उमेश भण्डारी, र एग्रो थाई फुड्सका प्रतिनिधि घनश्याम रेग्मीको उपस्थिति रहेको थियो ।
यस प्रतियोगिताले पथरीशनिश्चरे नगरपालिकामा फुटबलको लागि एक नयाँ आयामको आरम्भ गर्नुका साथै, खेल प्रेमीहरूको लागि रमाइलो र प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
ADVERTISEMENT