अर्जुन काफ्ले, पथरी, ६ असोज । बुधवार बिहानै सनसनी रुपमा खबर फैलियो, शारिरीक सुगठनका खेलाडी प्रकाश राई रहेनन् ।
केहीले अपुष्ट गरि सामाजिक सञ्जालमै राखेका थिए । धेरैका लागि खबर अपत्यारिलो नै थियो । जब प्रकाशका दाजु प्रदीप राईले यस घटनाको पुष्टि गरे, तब खबरलाई पत्याउन करै लाग्यो । शारीरिक सुगठनका खेलाडी प्रकाशको ह्दयघातका कारण निधन भएको पुष्टि भयो ।
मिष्टर काठमाडौको प्रतिष्पर्धामा राजधानी पुगेका उनले शनिवार मात्र उपाधि जितेका थिए । उनको जितको खुसीमा गृह नगर पथरीशनिश्चरे रमेको थियो । उनको गृहनगरमा भव्य स्वागत गर्ने कार्यक्रम पनि बनेको थियो । अकस्मात ह्दयघातका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उनको उपचार भईरहेको र केही समय पछि नै मृत्यु भएको खवरले खुसीलाई शोकले ढाक्यो ।
शनिवार बिहान निवासमा ल्याइएको प्रकाशको पार्थिव शरिरलाई श्रद्धान्जली दिने र मलामी जानेको संख्या बाक्लिदै थियो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लव अधिकारी र प्रदेश राज्य मन्त्री सिर्जना राइ प्रकाश राईको पार्थिव शरीरमा श्रद्धान्जली दिन आइपुगे । मन्त्री अधिकारीले राईको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे । मन्त्री र राज्यमन्त्री बाहेक पथरीशनिश्चरे नगरका नगर प्रमुख, विभिन्न वडाका वडा अध्यक्षदेखि खेल क्षेत्रका प्रतिनिधिको बाक्लो उपस्थीती थियो, पथरीबजारमा ।
राष्ट्रिय रुपमा आयोजना हुने शारिरीक सुगठनका प्रतियोगीतामा प्राप्त गरेका मेडल र पुरस्कार उनको शवको वरीपरि राखीएको थियो । उनको निधनपछि मेडल र पुरस्कार सम्मानका लागि राखिएको थियो । शव यात्रा अघि उनको घरमै भएको श्रद्धान्जली सभामा करिव ५ हजार भन्दा वडी स्थानियवासी र खेल सम्वद्ध व्याक्तिहरु सहभागी भए ।
करिव ११ बजे वाट सुरु गरिएको अन्तिम शवयात्रा पथरी वजार परिक्रममा गरेर पथरी वजार पश्चिमको जंगल उत्तरतर्फ पुगेर टुङगियो । शव यात्रामा पनि त्यतिनै संख्याको उपस्थिती रहेको थियो । पथरी बजारमा आएका उनका शुभचिन्तक र मलामीको भिडले केही वेर महेन्द्र राजमार्गको ट्राफिक व्यावस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्यो ।
राइको निधन प्रति दुख व्याक्त गर्दै पथरीशनिश्चरे नगरले उनको शोकमा एक दिनको शोक विदा समेत दिएको छ ।
‘पथरीशनिश्चरे नगरवाट शारिरीक सुगठन खेलका माध्यम वाट नगरकै नाम राख्न सफल भएको भन्दै उनको सम्मानमा कार्यक्रम गर्ने तय गरेको थियो तर उनको निधनमा शोक विदा दिन पुग्यो’ नगर प्रवक्ता नविनजंग कार्कीले भने ‘यो घटनाले नगरमात्र नभइ देशले नै एउटा प्रतिभा गुमाएको छ’ ।
राईले यस अघि पनि उपाधि जिते पछि पथरी नगरमा उनको सम्मानमा कार्यक्रम हुने गरेको र यस पटक पनि उनको सम्मानको कार्यक्रम विभिन्न फिटनेस क्लवले समेत राखेका थिए तर उनको सम्मानमा तय गरिएका कार्यक्रम नभइ उनको अन्तिम विदाइ गर्न पुगे, नगरवासीहरु ।
बुधवार विहान निधन भएका राईको शवलाई शुक्रवार हेलिकप्टरवाट ल्याउने तयारी गरिए पनि प्रविधिक कारण उनको शव थलमार्गबाट पथरी वजारमा ल्याइएको थियो । विहान नै शारिरीक सुगठनका विभिन्न फिटनेश क्लवका सदस्यहरु उनको शवलाई श्रद्धान्जली दिन लाम लागिसकेका थिए । हालै मात्र मिस्टर काठमाडौंको उपाधि जितेपछि उनको चर्चा शिखरमा पुगेको थियो ।
सन् २००१ मा उर्लावारीमा मिस्टर उर्लावारी जिते संगै उनले विभिन्न शारिरीक सुगठन प्रतियोगीताका उपाधि जित्न पुगे । करिव १२ वर्ष मकाउमा रोजगारीका क्रममा रहेका राईले त्यहा पनि खेललाई निरन्तरता दिए । २०३६ सालमा जन्मिएका राई हाल भने पथरीशनिश्चरेलाई नै आधार वनाएर शारिरीक सुगठनका प्रतियोगितामा सहभागी हुदै आएका थिए । पुर्वी मोरङ्ग क्षेत्रका शारिरीक सुगठनका खेलाडीको उत्प्रेरकको रुपमा रहेका उनको निधनले ठुलो क्षती भएको पथरी फिटनेश क्लबका गणेश नेपाली बताउँछन् ।
‘राईको निधनले परिवारले एक सदस्य गुमाउदा नगरले एउटा खेल क्षेत्रको उदाउँदो प्रतिभा गुमाएको छ ।’ नगरका प्रवक्ता कार्कीले भने । सम्मान कार्यक्रम तय गरिएको एउटा खेलाडीको अन्तिम संस्कार गर्न पुग्दा नगरवासी समेत भावविह्ल देखिन्थे ।