दिलीप पोख्रेल
उर्लाबारी, १५ असोज । भारतको सिलगुडीमा जारी च्याम्प्स कप फुटबल प्रतियोगितामा मंगलबारे फुटबल क्लव फाईनल प्रवेश गरेको छ ।
प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाईनल खेलमा भारतको यु.के.एफ.सी. खर्साङलाई ४-१ को अन्तरले हराउदै मंगलबारे फाईनल प्रवेश गरेको उर्लाबारी वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले जानकारी दिए ।
उक्त खेलमा मंगलबारेका टीम कप्तान सन्तोष न्यौपाने र सनम भुजेलले २/२ गोल गरेका थिए । यस्तै खर्साङको तर्फबाट विरेन प्रधानले रक्षात्मक एक गोल गरेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
उक्त खेलमा मंगलबारे फुटबलका भुजेल म्यान अफ दि म्याच घोषित हुदै नगदसहित मायाको चिनोद्वारा सम्मानित भए ।
प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलअन्तर्गत मंगलबार नर्थ बेङ्गाल र बेङ्गाल आर्म फोर्सबिच हुने बताईएको छ । मंगलबारेले उल्लेखितमध्ये फाईनल प्रवेश गर्ने एक टीमसँग आगामी अक्टोबर २ मा प्रतिस्पर्धा गर्नेछ ।
मंगलबारे फुटबल क्लवको टोली उर्लाबारीको प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा सहभागिता जनाएको थियो ।
यता मंगलबारेको टिम फाईनल प्रवेश गरेसँगै खुसी व्यक्त गर्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले मंगलबारेले छिमेकी देशमा राम्रो नजिता ल्याउने मात्रै नभएर उर्लाबारीको साथै देशकै गरिमा उच्च्च राख्न सफल भएको धारणा व्यक्त गरे ।
टीम म्यानेजर सुमन श्रेष्ठको व्यवस्थापनमा मंगलबारे फुटबल क्लवका जम्मा १९ जना खेलाडी तथा अफिसीयलहरुले सो प्रतियोगितामा सहभागिता जनाएका छन् । मंगलबारेले सन्तोष न्यौपानेको कप्तानीमा सो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ ।
गत सेप्टेम्बर १४ देखि सिमलगुडीस्थित मिडिलक्लास चम्पासरी खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा विजेताले २ लाख र उपविजेताले १ लाख २० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने मंगलबारे फुटबल क्लवका टीम कोच पपिन राईले बताए ।
गत असोज ८ गते सम्पन्न एनपीएस सिमलगुडीलाई १-० को अन्तरले हराउदै मंगलबारे फुटबल क्लव सेमीफाईनल प्रवेश गरेको थियो ।