
पथरी, २२ असोज । मोरङको पथरीशनिश्चरेमा असोज ५ गते देखि १२ गते सम्म सञ्चालन भएको प्रथम इन्ट्रा पथरीशनिश्चरे अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक भएको छ ।
आयोजक पथरी-११ फुटबल क्लवले पत्रकार सम्मेलन गर्दै गोल्डकपको हिसाव सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा क्लबका खेल संयोजक जितन राईले प्रतियोगिता संचालनबाट १० लाख ८३ हजार ७७७ रुपियाँ बचत भएको बताउनु
भयो ।
प्रतियोगिता संचालनका लागि कुल ४७ लाख ६४ हजार तीन ३६ रुपैयाँको आय ब्यय प्रस्तुत गर्दै संयोजक राईले सङ्कलित रकममा ७५ प्रतिशत सहयोग विदेशमा पसिना बगाइरहेका खेलप्रेमी नेपालीको रहेको जानकारी गराउनुभयो । दुई लाख सात हजार ५ सय रुपियाँ सङ्कलन हुन बाँकी रहेको राईले बताउनुभयो ।
गोल्डकपलाई पथरीशनिश्चरे नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। क्लबका कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले नगरमा राम्रो पारापिट हुने हो भने टिकटबाट नै राम्रो आर्थिक संकलन हुने बताउनुभयो ।
क्लबका अध्यक्ष सुमन विकले सवैको साथ र सहयोगले प्रतियोगिता सम्पन्न गर्न सफल भएको बताउनु भयो । बचत भएको रकम क्लब सञ्चालन र दोस्रो संस्करणमा १० वटा क्लब सहभागि गराएर गोल्ड कप आयोजना गर्न प्रयोग गरिने बताउनुभयो ।



