मधुमल्ला । शिक्षा क्षेत्र सुधारका लागि मोरङको मिक्लाजुङ गाउँपालिकाले “सकारात्मक सोच, व्यवहार कुशलता, सीप र संस्कार” भन्ने मूल नाराका साथ संचालन गरेको चार दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
४ दिन सम्म संचालन भएको उक्त कार्यक्रममा मिक्लाजुङ गाउपालिका ३८ वटा सामुदायिक विद्यालयका ३ सय विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थी, शिक्षक र अभिभावकका विच सकारात्मक सोच र व्यवहारीक विकास गर्न उत्प्रेरणात्मक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरीएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बविकुमार राईले बताउनु भयो ।
समापनका दिन मोटिभेटर स्पिकर, टेलिभिजनकर्मी तथा कलाकार सन्दीप क्षेत्रीले अभिभावक र विद्यार्थीहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक पर्ने खुराकहरुले सहजीकरण गर्नु भएको थियो ।
समापन सत्रको कार्यक्रममा बोल्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकलाई जागरुक बनाउन यस्तो कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पहिलो दिन मोटिभेटर डा. तारा जीले शिक्षक, विद्यार्थी र अभिभावकबीचको भूमिका र जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो । दोस्रो दिन सौनक भट्टले कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरेर उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्नुभएको थियो । तेस्रो दिन सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । चौथो दिन सामुदायिक विद्यालयका अभिभावकहरूको सहभागितामा सन्दीप क्षेत्रीले उत्प्रेरणात्मक सहजीकरण गर्नु भएको हो ।
यस कार्यक्रमले मिक्लाजुङको समग्र शैक्षिक सुधारका साथै दीर्घकालीन विकासका लागि जग बसाल्ने विश्वास गरिएको छ । शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा सहभागीहरूले राखेका थिए । कार्यक्रम माघ २ गते देखी शुशीला चलचित्र मन्दिरको सभाहलमा संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय