
उर्लाबारी । उर्लाबारी जेसीजको २७ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित कार्यक्रममा उर्लाबारी जेसीज २०२४ का अध्यक्ष नविन श्रेष्ठले २०२५ का अध्यक्ष भाईटीका भट्टराईलाई पद हस्तान्तरण गरेका छन् । साथै, नवनिर्वाचित पदाधिकारीलाई सपथ समेत गराइएको थियो ।
गत मंसिर २१ गते सम्पन्न उर्लाबारी जेसीजको २७ औँ चुनावी साधारणसभामा वर्ष २५ का लागि अध्यक्षमा भट्टराईसहित कार्यकारीणी उपाध्यक्षमा लक्ष्मण दाहाल र रञ्जित श्रेष्ठ, उपाध्यक्षमा किसन अटल, मिलन पोख्रेल, धिरज निरौला र पवन घिमिरे र जनसम्पर्क अधिकारीमा एरिसा कटुवाल सर्वसम्मत निर्वाचित भएका थिए।
यस्तै शनिवार सम्पन्न उक्त समारोहमा अध्यक्ष भट्टराईले सन् २०२५ का लागि विभिन्न पदमा जेसीज सदस्यहरुलाई मनोनित गरेका छन् ।
उनले कानुनी सल्लाहकारमा निशान भट्टराई, महासचिवमा रोशन घिमिरे, कोषाध्यक्षमा दिनेश दाहाल, सचिवमा पोषण आचार्य र अध्यक्ष सल्लाहकारमा केदार भण्डारीलाई मनोनित गरेका छन् ।
कोशी प्रदेश सभाकी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेसीज वर्ष २०२४ मा उत्कृष्ट कार्य सम्पन्न गरेका जेसीज सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यस्तै सो अवसरमा उर्लाबारी जेसीजले वर्षभरि गरेका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग गरेको भन्दै अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष तथा उर्लाबारी जेसीजका लागि निरुपित उपाध्यक्ष उज्जवल काब्रा, उर्लाबारी नगरपालिकाका नगर उपप्रमुख मिना खतिवडा पौडेल, मिक्लाजुङ गाउपालिकाका उपाध्यक्ष दिनेश पौडेल, जेसीजका केन्द्र, विभिन्न शाखाका पदाधिकारी, उर्लाबारीका वडाध्यक्षहरु, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
उर्लाबारी जेसीज २०२४ का अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक निशान भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।



