उर्लाबारी जेसीजले गत माघ ११ गते जेसीज स्तम्भ अनावरण गर्ने क्रममा पुर्व केन्द्रिय अध्यक्षले दिएको विवादास्पद अभिव्यक्तिप्रति कुनै अपनत्व नलिएको स्पष्ट पारेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै उर्लाबारी जेसीजले काम गर्ने क्रममा स्थानियबासी र सरोकारवाला पक्षसँग समन्वयकारी भुमिका निर्वाह गर्न कतै चुकेको हुनसक्ने धारणा सार्वजनिक गर्दै क्षमा माग्नुबाहेक अरु विकल्प नभएको जनाएको छ ।
उर्लाबारी जेसीजका अध्यक्ष टिकाप्रसाद भट्टराई (भाईटिका) द्वारा हस्ताक्षरीत सो विज्ञप्तीमा स्थानीयको मौलिकता, ऐतिहासिकता र विशिष्टतालाई मेटाएर उर्लाबारी जेसीज अघि बढ्ने कुरा परिकल्पना गर्न नसक्ने बताईएको छ । यस्तै सो विज्ञप्तीमा ,” उर्लाबारी-७ स्कुलडाँडामा जेसीजले स्तम्भ मात्रै बनाएको हो, चौकको नाम फेरेको वा फेर्ने प्रस्ताव गरेको होइन। हामी स्पष्ट छौ।” भनिएको छ ।
साथै सो विज्ञप्तीमार्फत उक्त समयमा उर्लाबारी जेसीजका सम्पूर्ण दस्तावेजहरुमा स्तम्भ निर्माण गर्ने बाहेक अन्य कुनै किसिमका छलफल वा निर्णयहरु नभएको समेत स्पष्ट पार्न चाहेको बताईएको छ ।
यसैबिच जेसीजको सो विज्ञप्ती जारी भएसँगै स्कुलडाँडाका स्थानियहरुले स्वागतयोग्य काम भनि जेसीजको तारिफ गरेका छन् । यस्तै स्थानियले जेसीजसँग सहकार्य गरेर समाजलाई सकरात्मक दिशातर्फ अगाडि लैजानेमा हातेमालो गर्न चाहेको बताएका छन् ।