
उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिकामा नागरिकताको अनलाइन सिफारिस सुरुवात भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सहजीकरणमा नगरपालिकाले वडा नं ५ बाट सो सेवाको थालनी गरेको हो ।
आइतबार वडाध्यक्ष रविन लामाको अध्यक्षतामा एक कार्यक्रम गरी सेवा सुरुवात गरिएको हो । कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख महेशराज तिम्सिना, अधिकृत विजय इङ्नामको आतिथ्यता रहेको थियो ।
नागरिकता प्राप्ति प्रक्रियालाई सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै नगर प्रमुख खरेलले चाँडै नै नगरका सबै वडाबाट यो सेवा सुचारु गरिने जानकारी गराउनुभयो । उहाँले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख महेशराज तिम्सिनाले नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने बताउनुभयो ।
अनलाइनमा गएपछि नागरिकता सिफारिस प्रक्रियामा पारदर्शिता बढ्ने र सेवाग्राहीको समय तथा श्रम बचत हुने बताउनुभयो । वडाध्यक्ष लामाले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताउनुभयो । कार्यक्रममा वडाका सबै टोल विकास संस्थाका अध्यक्षलगायत पदाधिकारीको सहभागिता रहेको थियो ।



