उर्लाबारी । उर्लाबारी नगरपालिकाको नगरसभाको १३ औं अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सुरु अधिवेशनमा चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट कार्यान्वयनको अवस्था, कार्यपालिका बैठकबाट भएको रकमान्तर अनुमोदन, स्वीकृत बजेट शीर्षकबाट रकमान्तर र बजेट खण्डीकरणको लागि नगर उपप्रमुख मीना खतिवडा पौडेलले प्रस्ताव पेश गर्नुभयो ।
यस्तै, कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक, २०८१ र १२ औं नगरसभा पश्चात बसेको कार्यपालिका बैठकको हालसम्मको निर्णय अनुमोदनका लागि नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी पेश गर्नुभयो ।
सभामा नगर न्यायिक समिति सदस्य अमृता नेपाली, आर्थिक विकास समिति संयोजक रविन लामा, सामाजिक विकास समिति संयोजक कृष्णबहादुर वर्देवा, पूर्वाधार विकास समिति संयोजक कुलबहादुर कार्की, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक कुमार कँडेल, सुशासन तथा संस्थागत विकास समिति सदस्य उर्मिला थापा, सुशासन तथा संस्थागत विकास समिति संयोजक तिलककुमार पाण्डे, अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक चिन्तामणि पौडेलले आ–आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभयो । उर्लाबारी नगरपालिकाको सार्वजनिक सम्पत्तिको विवरणका बारेमा वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईले जानकारी गराउनुभएको थियो।
सभामा वडा सदस्यहरु डम्बर बराल, रुद्रप्रसाद लामिछाने र प्रकाश कन्दङ्वाले छलफलमा भाग लिँदै विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सभाले प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत् पारित गरेको छ । १३ औं अधिवेशनको दोस्रो बैठक भोलि बस्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय