
उर्लाबारी । उर्लाबारीको अग्रणी शैक्षिक संस्था सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेण्डरी स्कुलले ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाउने भएको छ। यही फागुन १५ देखि १७ गतेसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो ।
तीन दिवसीय कार्यक्रमको पहिलो दिन खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । फागुन २ गते सुरु भएको खेलकुद सप्ताह ६ गते सम्पन्न भएको थियो ।
खेल उत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक/प्रिन्सिपल लेखनाथ भट्टराईका अनुसार दोस्रो दिन अर्थात फागुन १६ गते प्राइमरी कक्षाका विद्यार्थीहरुको विविध साँगीतिक कार्यक्रम रहने छन् । अन्तिम दिन फागुन १७ गते वृहत साँगीतिक कार्यक्रमसहित पुरस्कार तथा सम्मानका कार्यक्रम रहने छन् ।
वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थीलगायतलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको प्रिन्सिपल भट्टराईले बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रतिभा प्रस्तुत गर्ने छन् ।
२०५० सालमा स्थापना भएको यो विद्यालयमा हाल १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ भने ६५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
सप्तकोशीले एसईई, एसएलसीलगायत परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले जानकारी दिनुभयो ।



