
मधुमल्ला । मिक्लाजुङ गाउपालिकामा प्रथम कोशी प्रदेशस्तरीय खुल्ला कराते प्रतियोगिता हुने भएको छ । मधुमल्ला सितोरियो कराते डोजोको आयोजनामा फागुन २४ गते मधुमल्लास्थित मनोहर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सो प्रतियोगिता आयोजना हुनेछ ।
मधुमल्ला डोजोका प्रमुख प्रशिक्षक दिपेन थापाकाअनुसार सो प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, ईलाम लगायतका जिल्लाका ३१ वटा टिमको सहभागिता रहने जनाइएको छ । यस्तै उनले सो प्रतियोगितामा करिव ३ सय जना खेलाडीको सहभागिता रहने बताए ।
उक्त प्रतियोगितामा मिक्लाजुङ गाउपालिका सह–आयोजकको रुपमा रहेको आयोजकले जनाएको छ ।
यस्तै सो प्रतियोगिताको मुख्य उद्देश्य खेलाडी उत्पादन गर्ने र स्थानिय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु रहेको छ । साथै खेलको नियमअनुसार खेलाडीहरुलाई अनुशासित बनाउने र लागुऔषध दुर्व्यसनी न्युनिकरणको लागि सो प्रतियोगिताले मुख्य भुमिका खेल्ने विश्वास लिईएको आयोजकले जनाएको छ ।
त्यस्तैगरी सो प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख ४३ हजार खर्च हुनसक्ने अनुमान गरिएको छ । साथै विभिन्न संघसंस्था तथा दाताहरुबाट संकलित रकमबाट सो प्रतियोगिताको आर्थिक स्रोत जुटाइने आयोजकले जनाएको छ ।
वि.सं. २०५१ सालमा स्थापित मधुमल्ला डोजोमा हाल १ सय ५० भन्दा बढि खेलाडी आवद्ध रहेका छन् ।
प्रतियोगिता बारे शनिबार मधुमल्लास्थित सव डिभिजन वन कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।



