
उर्लाबारी । मोरङको विराटनगरबाहिर पहिलो पटक उर्लाबारीमा रहेको अरनिको हस्पिटलले निजी क्षेत्रबाट सिटी स्क्यान सेवा सुरु गरेको छ ।
सिटी स्क्यान सेवाको विस्तारका लागि आज एक कार्यक्रम बिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेवाको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभयो । निजी क्षेत्रले थप विश्वासनीयता आर्जन गर्नका लागि कसरी आम नागरिकलाई विश्वासमा लिन सकिन्छ, कसरी, सस्तो र सर्वसुलभ तरिकाले सेवा दिन सकिन्छ भन्ने पक्षमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
मोफसलमा रहेको हस्पिटलले एक पछि अर्को आधुनिक सुविधा थप्ने क्रममा ४ करोडको लगानीमा सीटी स्क्यान सेवाको विस्तार गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिनुभयो । यो सेवा सञ्चालन आएपछि अब अस्पतालमा सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । यो मेसिनको प्रयोगबाट एकै छिनमा गम्भीर चोट, रक्तश्राव वा ट्युमर पत्ता लगाउन सकिने, शल्यक्रिया नगरिकनै आन्तरिक अवस्था जाँच्न सकिने, हड्डीदेखि मस्तिष्कसम्म लगभग सबै अंगहरु जाँच गर्न सकिने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वरप्रसाद सिंह, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, नेपाली काँग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूलगायत अतिथि रहनुभएको थियो ।



