उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका हङकङ परिवारले राष्ट्रिय योग प्रतियोगिताका बिजेता नमुना बाल गृह उर्लाबारीका खेलाडीहरूलाई नगद ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं टोखामा सम्पन्न छैटौं राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण र रजत पदक जिती अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका ५ जना खेलाडीलाई उक्त रकम प्रदान गरिएको हो ।

राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण पदक जित्ने किरण मगर, स्वेच्छा थापा तथा रजत पदक प्राप्त गर्ने सुन्दर कार्की, चाँदनी परिवार, र जय चौधरी आगामी चैत २६ र २७ गते मलेसियामा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय योग प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछन्।
प्रतियोगितामा सहभागिता जनाउन आवश्यक व्यवस्थापन खर्च स्वरूप उक्त सहयोग रकम प्रदान गरिएको हो ।

उर्लाबारी नगरपालिका हङकङ परिवारका नेपाल प्रतिनिधि तथा उर्लाबारी–९ का वडा अध्यक्ष नरबहादुर मोक्तान र परिवारका सदस्य सुजन सेन्दाङले उक्त सहयोग रकम नमुना बाल गृहका संस्थापक सदस्य अतिहिरा राईलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग रकम संकलन तथा व्यवस्थापनमा उर्लाबारी नगरपालिका हङकङ परिवारका अध्यक्ष साङ्गेनाहाङ तुम्बाहाम्फे, सदस्य राकेश राई लगायतले विशेष पहल गरेका थिए।

वडा अध्यक्ष मोक्तानले खेलाडीहरूको मेहनत र सफलतालाई प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। उहाँले बालगृहका नानीबाबुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उर्लाबारी–९ का वडा सदस्य प्रकाश कन्दङ्वाले बालगृहका बालबालिकाले योग खेलकुदमा उत्कृष्ट प्रदर्शन गरी नगरको नाम उच्च बनाएको उल्लेख गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्न निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सन्तोष श्रेष्ठ, स्थानीय समाजसेवी विमला पोमु, गणेश किम्दाङ, शुक्रराज कन्दङ्वा, सानु तामाङ, विष्णु चोङबाङ लगायतको उपस्थिति रहेको थियो ।

एक महिना अघि काठमाडौंको टोखामा सम्पन्न राष्ट्रिय योग प्रतियोगितामा उर्लाबारी–७ नमुना बाल गृहका नानीबाबुहरूले २ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरूले अब मलेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई गौरवान्वित पार्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय