
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारी र दमकको प्रहरी टोलीले २ लाख ८९ नगद सहित लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
सुनसरी रामधुनी नगरपालिका–४ घर भई हाल झापा दमक नगरपालिका–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय विवेक माझी लागूऔषधसहित पक्राउ परेका हुन ।
लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा आरोपित व्याक्तिहरुले माझीको नाम बयानमा खुलाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई डेराबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले माझीको डेराबाट प्रतिबन्धित औषधि ट्रामाडोल ९१८ पत्ता (९,१८० गोटी) र स्पास्टिन १,६५७ पत्ता (१६,५७० क्याप्सुल) बरामद गरेको छ । साथै, नगद २ लाख ८९ हजार रुपैयाँ समेत फेला पारेको जनाएको छ ।
बरामद औषधि र नगदसहित माझीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यस्तै सोही प्रकृतिको अपराधमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का २९ वर्षीय सुमन गुरुङ पनि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले ट्रामाडोल १,०१६ ट्याब्लेट र स्पाष्मोप्रोक्सिभन क्याप्सुल (स्पाष्मिड) ९८० थानसहित नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार गोप्य सूचनाका आधारमा विशेष निगरानीका क्रममा उनलाई पक्राउ गरिएको डिएस्पी मोहनविक्रम दहालले बताए ।
प्रहरीले लागुऔषध कारोबार तथा वितरणमा संलग्न हुनेहरूमाथि निगरानी कडा बनाइएको भन्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।यस सम्बन्धमा अनुसन्धान जारी रहेको जनाइएको छ ।



