उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबार बाट सुरु भएको ‘तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता’ को आज भएको उद्घाटन खेलमा चारपाने युनाईटेड भेट्रान फुटबल क्लब विजयी बनेको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा आयोगित प्रतियोगितामा चारपाने युनाईटेड भेट्रानले युनाईटेड भेट्रान क्लव विराटनगरलाई २–१ गोल अन्तरले पाखा लगाउदै दोस्रो चरण प्रवेश गरेको छ ।
निर्धारित ६० मिनेटको खेलमा गोलको खाता युनाईटेड भेट्रान क्लव विराटनगरका निराजन बस्नेतले २४ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई हाफमा १–० ले लिड गराएका थिए ।
पहिलो हाफ १–० ले लिड गरेको विराटनगरका लागि दोस्रो हाफ भने दवाव पुर्ण बन्न पुग्यो । दोस्रो हाफमा चारपानेले खेलमा कमव्याक गर्दै अशोक कुमार शेर्मा र दिपेन्द्र श्रेष्ठले १–१ गोल गर्दै आर्को चरण प्रवेशको यात्रालाई सुनिश्चित गराए ।
मध्यान्तर पश्चात खेलमा कमव्यक गरेको चारपानेले निकै नै उत्कृष्ठ मौकाहरु पाएपनि फिनिसिङ क्लियर गर्न नसक्दा २–१ को स्थितीमा रोकिन पुग्यो ।
उद्घाटन खेलको म्यान अफ दि म्याच चारपानेका दिपेन्द्र श्रेष्ठ घोषित भए उनले नगद १ हजार १ सय रुपैया प्राप्त गरे ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भोलिको खेल भरौल भेट्रान र कन्काई भेट्रान्सका विच पहिलो खेल हुनेछ भने दोस्रो खेल मिल्स भेट्रान्स विराटनगर र दमक लखनपुर भेट्रान्सका विच हुने आयोजकले जनाएको छ । खेलको उद्घाटन कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिका मेयर गंगा प्रसाद खरेलले मुख्य रेफ्री मनोज तामाङलाई बल हस्तानतरण गरेर गर्नु भएको थियो ।








