उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार सम्पन्न खेलमा वडा नम्बर १ ले वडा नम्बर ४ लाई ट्राइबेकरमा ४–२ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
मंगलबारे युवा क्लबको आयोजनामा सम्पन्न उक्त खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट कुनै निर्णायक गोल हुन नसकेपछि सो खेल ट्राइबेकरमा पुगेको थियो। टाइबेकरमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर १ ले विजय हात पारेको हो।




उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर १ का गोलकिपर दिपेश श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ट्राइबेकरमा दुई महत्त्वपूर्ण प्रहार रोक्दै टिमको जितमा निर्णायक भूमिका खेलेका थिए। उनलाई सिद्धार्थ एग्रीगेटका अध्यक्ष सचिन शाक्यले नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरे।

उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल आगामी वैशाख १० गते आयोजना हुनेछ। खेल संयोजक विजय माझीका नुसार विजेता टिमलाई नगद ७५ हजार, उपविजेतालाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यता खेल व्यवस्थापन संयोजक राजन सुवेदीकाअनुसार पहिलो सेमिफाइनल सोमबार वडा नम्बर ५ र वडा नम्बर ६ बीच दिउँसो ३ बजे हुनेछ। दोस्रो सेमिफाइनल खेल मंगलबार वडा नम्बर १ र वडा नम्बर २ बीच हुने सुवेदीले बताए ।
सो प्रतियोगिता ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हो।




