
विराटनगर । मोरङमा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दा बढेपछि प्रहरीले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको छ ।
युवा उमेर समूहका कुलतको लतमा फसेर अपराधिक क्रियाकलापहरूमा संलग्न हुने गरेको पाइएपछि मोरङ प्रहरीले लागूऔषधको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको हो ।
मोरङमा २० देखी २९ वर्ष उमेर समुहका लागूऔषध प्रयोगकर्ताको संख्यामा २० हजार भन्दा बढी रहेको मोरङ प्रहरीका एसपी शान्ति राज कोईरालाले बताए ।
आइतबार सरोकारवालाहरूसँग ‘लागू औषध दुव्र्यसनीहरूलाई उपचार तथा पुनःस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा एसपी कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै एसपी कोइरालाले कुलतमा फसेका युवाहरूलाई सुधार गरि समाजमा पुनःस्थापना गरिन प्रदेश सरकार र पुनस्थापना केन्द्रहरूसँग समन्वय र सहकार्य गरि अभियान सुरू गर्ने बताए ।
मोरङमा २० प्रतिशत भन्दा बढी मुद्दा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मात्र बढेको प्रहरीको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा १ सय ८६ वटा लागूऔषध मुद्दा दर्ता भएको थियो । २०७७/०७८ मा बढेर २ सय २४ वटा मुद्दा दर्ता भएको एसपी कोइरालाले जानकारी दिए ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ९ वटा मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्षको साउनसम्म मोरङमा ४७ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएको मध्ये इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट मात्र मुद्दा चलेको ३७ वटा रहेको छ । ९० प्रतिशत मुद्दा मोरङको ८ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरू भन्दा बढी इप्रका रानीबाट चल्ने गरेको छ ।
कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सचेता अभियान सुरू गरेर कुलतमा फेसेका देशका कणर्दार युवाहरूलाई सुधार गरेर लैजानुपर्ने बताए । यसको लागि प्रदेश सरकारले पनि समन्वय र सहकार्य गरि काम गर्ने उनले बताए ।
कार्यक्रममा मोरङमा रहेका ८ वटा लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारको लागि राखिने पुनःस्थापकाना केन्द्रका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो । उनीहरूले पनि लागूऔषध दुव्र्येसनीमा लागेकालाई सुधार गरि समाजमा पुनःस्थापनाको लागि सरकारी तहबाट अभियान चलाउन आवश्यक भएको सुझाब दिए ।



