सुनसरी। सप्तकोशी नदीमा बग्दै गरेको ट्युबमा शुक्रबार बिहानका राति लागुऔषध गाँजा फेला परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बगिरहेको अवस्थामा फेला परेको गाडीमा प्रयोग हुने ट्युबबाट बिहानका राति २ः३० बजेतिर २ सय किलोग्राम गाँजा बरामद भएको हो ।
गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त टोली खटिएको थियो ।
सप्तकोशी नदीको आसपासमा खोजतलास थालेको प्रहरीले नदीमा बेवारिसे अवस्थामा बग्दै आएको २ वटा ट्युबलाई पछ्याउँदै गएको टोलीले कोशी पुलदेखि १.५ किलोमिटर उत्तरतर्फ नदीको किनारामा ट्युब निकालेर हेर्दा गाजा फेला पारेको थियो ।
दुवै ट्युब खानतलासी गर्दा प्लाष्टिकको बोरामा पोको पारेको अवस्थामा गाँजा भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार ट्युबमा ८ वटा बोरा फेला परेको थियो ।
बोरा खोलेर हेर्दा त्यहाँभित्र गाँजा फेला परेको हो । उक्त ट्युब र गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर राखिएको छ । गाँजा कसले ओसारपसार गरेको हो भनेर यकिन भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय