
उर्लाबारी, २ असार । मोरङको उर्लाबारी–३ मा रहेको धिमाल जातीय विकास केन्द्रमा लागेको मेलामा एक पुरुष अचेत अवस्थामा फेला परेका थिए। अस्पताल लगिएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
धिमाल जातीय विकास केन्द्रको आयोजनामा सोमबार दिउँसो साँस्कृतिक पर्व ‘जातिरी/सिरिजात’ समापन कार्यक्रम चलिरहेको समयमा, करिब २:५० बजे उर्लाबारी–३ स्थित चौरमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको अज्ञात पुरुष अचेत अवस्थामा फेला परेका हुन्।




घटनापछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
हाल मृतकको शव मंगलबारे ट्रमा सेन्टरमै राखिएको छ। मृतकको सनाखत नभएकाले प्रहरीले उनको पहिचानमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। जानकारी भएमा इलाका प्रहरी कार्यालय उर्लाबारीको सम्पर्क नम्बर ९८५२०९०१३६ मा सम्पर्क गर्न आग्रह गरिएको छ।