
उर्लाबारी, २ असार । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित श्री राधिका माध्यमिक विद्यालयका एक शिक्षकले विगत दुई वर्षदेखि विद्यालयका बालिकामाथि यौनदुर्व्यवहार गर्दै आएको खुलसा भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ–३० गते वडा नं. ७ का विभिन्न विद्यालयमा गरिएको नियमित अनुगमनका क्रममा सो गम्भीर विषय बाहिर आएको हो ।
अनुगमन टोली दिउसो तिर राधिकामा पुगी बालबालिकासँग अन्तरक्रिया गर्ने क्रममा कक्षा परिवर्तित नाम ‘ङ’ भन्दा माथि पढ्ने बालिकाहरुले एक शिक्षकले २ वर्षदेखि यौनदुर्व्यवहार गर्दै आएको बताएका हुन ।




शिक्षकले बालिकाको गोप्य अंगमा हात लगाउने, औलाले चलाउने, कक्षा बन्द गरेर राख्ने, फरक खोल्न लगाउने, भुइँमा सुत्न बाध्य पार्ने, प्रश्न सोधेर मानसिक दबाव दिने, कहिलेकाहीँ पिट्नेजस्ता क्रियाकलाप गर्दै आएको विद्यार्थीहरूको अनुगमन टोलीलाई बताएका थिए ।
उक्त घटनाबारे विद्यार्थीले यस अघि अभिभावक र विद्यालयका फोकल पर्सनलाई जानकारी गराइए पनि विद्यालय प्रशासनबाट कुनै सुनुवाइ नभएको आरोप गुनासो उनिहरुले अनुगमन टोलिमा राखेका थिए ।
शिक्षकलाई अध्यापनमा रोकः
विद्यालयका प्रधानाध्यापक सुवास सापकोटाका अनुसार उक्त गुनासोपछि तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई शिक्षकलाई अध्यापन कार्यमा रोक लगाउने निर्णय गरी नगरपालिकाको कार्यालय र शिक्षा शाखालाई जानकारी दिइएको बताए ।
बैठकमा शिक्षकले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै, “कहिलेकाहीँ पढाइका क्रममा सामान्यरूपमा अनुशासनका लागि पिटेको हुँ, तर यौनदुर्व्यवहार आरोप गलत हो” भन्ने प्रतिक्रिया दिएको विद्यालयका प्रधानाध्यपक सापकोटाले बताए ।
आरोपित शिक्षक झापा जिल्ला स्थायी घर भएका हुन् । उनी निमावि तहका दरबन्दीमा कार्यरत शिक्षक हुन ।
अनुगमन समितिले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाको बालबालिका शाखा, शिक्षा शाखासहित सम्बन्धित निकायसँग उक्त घटनाबारे थप अनुसन्धान र कानुनी कारबाही अघि बढाउन आग्रह गरेको बताइएको छ ।