
उर्लाबारी, असार ४ । उर्लाबारी–७ स्थित श्री राधिका माध्यमिक विद्यालयमा एक शिक्षकद्वारा विद्यालयका बालिकामाथि विगत दुई वर्षदेखि यौन दुर्व्यवहार भएको खुलासा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगर समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
विद्यालय अनुगमनको क्रममा सार्वजनिक भएको उक्त घटनाले सम्पूर्ण शैक्षिक प्रणालीको नैतिकता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै रास्वपाले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष, द्रुत र गहन छानबिन गरी दोषी शिक्षकलाई प्रचलित कानुनअनुसार हदैसम्मको सजाय दिन स्थानीय प्रहरी प्रशासन, नगर शिक्षा शाखा तथा सरोकारवाला निकायहरूलाई जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ–“विद्यालयजस्तो संवेदनशील स्थानमा शिक्षकजस्तो जिम्मेवार भूमिकाबाट यस्ता घृणित कार्य हुनु दुःखद र आपत्तिजनक भएको उल्लेख छ । यसले बालिकाको मानसिक र भावनात्मक अवस्थामाथि दीर्घकालीन असर पर्ने भन्दै पीडित तथा उनका परिवारलाई आवश्यक कानुनी, सामाजिक र मनोवैज्ञानिक सहयोग तत्काल उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।”
रास्वपाले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा, शोषण र दुर्व्यवहारमा शून्य सहिष्णुताको नीति अवलम्बन गर्दै आएको र त्यसमाथि कुनै राजनीतिक दबाब, ढिलासुस्ती वा लापरवाही किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
पीडितलाई न्याय र दोषीलाई कठोर दण्ड नै हाम्रो अटल प्रतिबद्धता हो । “विज्ञप्तिमा भनिएको छ।”



