• राजीनामा मात्र पर्याप्त छैनः नेविसंघ

उर्लाबारी, असार ४  मोरङको उर्लाबारी–७ स्थित श्री राधिका माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामाथि दोहोरिएको यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) उर्लाबारी नगर समिति र उर्लाबारी बहुमुखी क्याम्पस समिति दुबैले दोषीमाथि निष्पक्ष छानबिन गर्दै कडा कारबाही गर्न माग गरेका छन्।

बुधबार संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा नेविसंघले घटनामा संलग्न शिक्षकलाई उन्मुक्ति दिन नहुने भन्दै पीडित छात्राहरूको न्याय सुनिश्चित गर्न स्थानीय र संघीय निकायको ध्यानाकर्षण गराएको हो।

अनुगमनको क्रममा खुलेको घटनाः
बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ ३० गते वडानं ७ का विद्यालयहरूमा गरिएको नियमित अनुगमनको क्रममा विद्यालयका छात्राहरूले आफूहरूले भोग्दै आएको यौन दुर्व्यवहारबारे अन्तरक्रियाका क्रममा विवरण सार्वजनिक गरेका थिए।

कक्षा ‘ङ’ भन्दा माथिका बालिकाहरूले अनुगमन टोलीलाई दिएको बयान अनुसार, शिक्षकले लामो समयदेखि उनीहरूलाई गोप्य अंगमा हात लगाउने, औलाले चलाउने, कक्षा बन्द गरेर राख्ने, फरक खोल्न लगाउने, भुइँमा सुत्न बाध्य पार्ने, मानसिक तनाव दिने, र कहिलेकाहीँ पिट्ने जस्ता अपमानजनक र आपत्तिजनक गतिविधि गर्दै आएको आरोप लगाएका थिए।

छात्राहरूका अनुसार, उनीहरूले यसबारे अघिल्लो समयमा आफ्ना अभिभावक तथा विद्यालय फोकल पर्सनलाई जानकारी गराए पनि विद्यालय प्रशासनबाट कुनै प्रभावकारी सुनुवाइ भएको थिएन।

राजीनामा मात्र पर्याप्त छैनः नेविसंघ
घटना सार्वजनिक भएको पाँच दिनपछि आरोपित शिक्षकले असार २ गते विद्यालयमा राजीनामा बुझाएका थिए, जुन विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भइसकेको विद्यालयका प्रधानाध्यापक सुवास सापकोटाले जानकारी दिएका छन्। ती शिक्षक झापा जिल्लाको दमक नगरपालिकाका स्थायी बासिन्दा हुन् र राधिकामा निम्न माध्यमिक तहमा कार्यरत थिए।

तर, नेविसंघसहित स्थानीय अभिभावक, नागरिक समाज र सामाजिक अगुवाहरूले शिक्षकको राजीनामालाई मात्र समाधान मान्न नमिल्ने भन्दै कानुनी अनुसन्धान प्रक्रिया सुस्त भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आरोपितलाई तत्काल कानूनको दायरामा ल्याउनुपर्ने, पीडित छात्राहरूको सुरक्षा सुनिश्चित गर्दै मनोसामाजिक परामर्श र न्यायका लागि राज्य गम्भीर रुपमा लाग्नुपर्ने जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय